इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिका ७ मा शनिवार दुई नाबालीका मृत भेटिए । मृतक  दुई नाबालिकाकी आमा फरार रहेकाले विष खुवाएर हत्या गरेको आशङ्का गरिएको छ ।

केरा बगानभित्र १ वर्षीय अर्पणा कार्की र ३ वर्षीय आयिका कार्कीको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानको आधारमा २९ वर्षकी आमा अस्मिता न्यौपानेले हत्या गरेको अनुमान गरिएको छ ।

मृतक बालिकाहरूको शव नजिकै किटनाशक औषधी देखिएकोले विष खुवाएर हत्या भएको हुनसक्ने आशङ्का गरिएको हो ।

धनकुटा स्थायी घर भएका बाबु अर्जुन कार्की र आमा अस्मिता बिच केही समय अगाडि देखि घर झगडा हुने गरेको छिमेकीहरूले बताएका छन् । सीता रेग्मीको घरमा भाडामा बस्दै आएका उनीहरू बसाइँ सरेर आउने तयारीमा रहेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मृतक बालिकाहरूको पोष्टमार्टमको रिपोर्ट नआई यसै भन्न नसकिने बताए । आमा सम्पर्कविहीन भएकाले खोज कार्य तीव्र पारिएको उनको भनाइ छ ।

श्रीमान् सँग झगडापछि छोरीहरू लिएर अस्मिता निस्केको हुँदा उनले नै हत्या गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।