काठमाडौँ : अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म 'हरिबहादुरको जुत्ता' निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।

गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन् । ओलीले बुधवार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।

फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो ,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाइलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

अभिनेता आचार्य र निर्माता ओलीबिच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । फिल्म निर्माणमा भने ओली पहिलो पटक होमिएका हुन् । हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफू फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।

‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ । यत्तिकैमा हरिवंश दाइले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनपर्‍यो । त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ ।’

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै फिल्ममा सहकार्य गरेका छैनन् ।

प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । ‘म सानैदेखि हरिवंश दाइलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश भन्छन्, ‘सङ्गीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुसी छु । निर्देशनमा दीपेन्द्र दाइको बेग्लै उचाइ छ । यो फिल्म तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’

फिल्मको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथा सारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन । ‘बाँकी हामी चाँडै खुलाउनेछौँ,’ निर्माता ओलीले भने ।