विराटनगर : नेपाली काँग्रेसका आन्तरिक कारणले कोसी प्रदेश सरकारले पूर्णता नपाइरहेको चर्चा चलिरहेको बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तारमा अझ केही दिन ढिलाइ हुने कुरा बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बुधवार सञ्चारकर्मीहरूले मन्त्रिपरिषद् विस्तारको विषयमा राखेको जिज्ञासामा उनले ‘केही दिन ढिलाइ’ हुने बताएका हुन ।

मुख्यमन्त्री कार्कीले भने ‘तीज पछि मात्रै सरकार विस्तार हुन्छ ।’ नेपाली काँग्रेसले सरकार बिस्तारमा गति बढाउनासाथ सरकार विस्तार हुने सङ्केत गर्दै उनले भने ‘काँग्रेसको हिँडाइ बिस्तारै भयो, काँग्रेसले गति गति लिएपछि सरकार अघि बढ्छ ।’

मुख्यमन्त्री कार्कीले काँग्रेसको कारणले सरकार बिस्तारमा ढिलाइ भएको उल्लेख गर्दै काँग्रेसको आन्तरिक कारण सुल्झिएको अवस्थामा पुगेकोले अब चाडै मन्त्रिपरिषद् बिस्तार हुने बताए ।

सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा असर परेको उनले बताए । भने ‘जति चाँडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिन्छ ।’

अहिले प्रदेश सरकार शासकीय सुधारको कार्यमा लागेको बताउँदै सुधारसँगै विकासका योजनाहरूलाई तीव्र गतिमा अघि बढाइने मुख्यमन्त्रीले बताए ।

सञ्चारकर्मीको एक प्रश्नको उत्तरमा मुख्यमन्त्री कार्कीले भने ‘सरकारको बारेमा नमिठो कुरा गर्‍यो भनेर कसैसँग लाप्पा खेल्न जान हुँदैन ।’

अमर्यादित भाषामा आलोचना नगर्ने तथ्यहीन कुरा गर्नेलाई जवाफ दिइरहन जरुरी नभएको बताउँदै उनले भने ‘त्यस्तो बोल्न तथ्य बिना कुरा गर्नलाई केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढङ्गले गरेर अगाडि बढ्छौँ ।’

सरकार गतिशील र व्यवस्थित ढङ्गले अगाडि बढिसकेकोले कसले के भन्यो त्यता तिर जाने नभई काम गर्न लागिपर्ने उनले बताए ।