धरान : सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट अन्यत्र जान लागेकोमा राजनीतिक दलहरूको पहलमा सुनसरी उद्योग वाणिज्य सङ्घले भाडा तिर्ने गरी धरान-८ स्थित रेडियो नेपालको ट्रान्समिसन भवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना गरिने भएको छ ।

धरानका निवर्तमान नगर प्रमुख तिलक राईले भने ‘गृहमन्त्री र सञ्चार मन्त्री सहित मन्त्रालयका सचिवहरूसँग धरानबाट गएको प्रतिनिधि मण्डलको संयुक्त बैठकले रेडियो नेपालको भवन भाडामा दिने लिने निर्णय गरेको हो ।’

उनका अनुसार राजनीतिक दल, सुनसरी उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका नेतृत्वहरूको प्रतिनिधि मण्डलसँग गृहमन्त्री रमेशदत्त लेखकको पहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ सहित बैठक भएको हो ।

लिखित समझदारी गर्न रेडियो नेपालमा कार्यकारी निर्देशक नहुँदा रोकिएको बताउँदै राईले भने ‘सरकारले हालै कार्यकारी निर्देशक नियुक्त गरेकाले चाँडै कार्य सम्पन्न हुनेछ ।’ सरकारले बिहीबार रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुभाष केसी धरानबाट सरुवा भएर काठमाडौँ जाने भएकोले उनको विदाईका लागि सङ्घद्वारा आयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख राईले भने ‘जिल्ला ट्राफिक कार्यालय धरानबाट अन्यत्र जानबाट रोक्न ट्राफिक प्रमुख सुभाष केसीले धरानका अगुवाहरूलाई झकझक्याउन ठुलो भूमिका निर्वाह गर्नुभयो ।’

धरानमा वान-वे व्यवस्था गरी त्यसलाई सफल बनाउनुका साथै यातायातको क्षेत्रमा सुधारका लागि ट्राफिक प्रमुख केसीको सधैँ सम्झना गरिने उनले बताए । राईले भने ‘यो सफलता उहाँको समझदारी र सहकार्यबाट सबैको सहमतिमा काम गर्ने शैलीले प्राप्त भएको हो ।’

वर्तमान नगर प्रमुख हर्क साम्पाङको कार्यशैली उल्लेख गर्दै निवर्तमान प्रमुख राईले धरानबाट सरकारी कार्यालयहरू अन्यत्र गइरहेको क्रममा ट्राफिकको जिल्ला कार्यालय समेत जान लागेको उल्लेख गर्दै भने ‘यसमा जसले चासो राख्नु पर्छ, सहकार्य गर्नु पर्छ उसलाई मतलबै छैन ।’

सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरानमा ट्राफिक कार्यालय ४० वर्ष अघि स्थापना भएको बताए । भने ‘आफ्नै भवन, जग्गा भएका सरकारी कार्यालयहरू अन्यत्र गई रहेको छ ।’ त्यसको प्रत्यक्ष असर व्यापार व्यवसाय, आर्थिक गतिविधिमा परेको उनको भनाई थियो ।

यस्तो बेला भवन बनाउने जग्गा उपलब्ध नगराइँदा अन्यत्र जान लागेको ट्राफिक कार्यालय रोक्न सङ्घ र राजनीतिक दलहरूको सहकार्यमा वैकल्पिक व्यवस्था गरिएको उनले बताए । उनका अनुसार यसअघि पनि सङ्घको पहलमा ट्राफिक प्रहरी भवन बनाउन सङ्घले पटक पटक जग्गा प्राप्तिको पहल गर्दै आएको छ ।

लाङघाली सामुदायिक बनको ५ कट्ठा जग्गा हासिल गर्न अहिले पनि प्रयास जारी रहेको बताउँदै उनले भने ‘बन ऐनको प्रावधानका कारण अवरोध भइरहेकाले भवन नबने सम्मका लागि अस्थायी विकल्पको रूपमा रेडियो नेपालसँग सङ्घले भाडा तिर्ने गरी भवन प्राप्त गर्ने सहमति भएको हो ।’

हाल जिल्ला ट्राफिक कार्यालय रहेको धरान-८ स्थित बाग महाल भवन बैङ्कले लिलाम गरी सकेको हुँदा कार्यालय अन्यत्र सार्न ताकेता आइरहेकोले ट्राफिक कार्यालय सङ्कटमा परेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले जग्गा उपलब्ध गराए भवन आफै बनाउने बजेट भएकोले ट्राफिक कार्यालयको लागि इटहरी र इनरुवा नगरपालिकाले जग्गा दिने भनी बोलाएको समेत जाकारी दिए । धरानमा रहेको सरकारी कार्यालयको स्थायित्वका लागि बेलैमा चिन्ता नगरे ट्राफिक कार्यालय अन्यत्र जाने चिन्ता प्रकट गरे ।

नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङले स्थानिय सरकारको नेतृत्वसँग खोला खोल्सा चहार्ने बाहेक धरानको समस्या र यहाँको स्थायित्वप्रति चिन्ता, चासो नभएकोले धरान पछि पर्दै गइरहेको बताए । उनले भने ‘धरानको नेतृत्व गैरजिम्मेवार भयो भन्दैमा हामी तमासा हेरेर बसेका छैनौँ, धरानको स्थायित्वका लागि हामी सक्रिय छौँ ।’

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले धरानको यातायात व्यवस्थापनमा जति सुधार भएको त्यो आफू एक्लैले नगरेको बताउदैँ स्थानिय निकाय, धरानको राजनीतिक दल, सामाजिक संस्था तथा समाजसेवी व्यक्तिको संयुक्त प्रयासबाट भएको बताए । उनले भने ‘मैलै त जागिर खाँदा निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गरेको हुँ ।’ बिदाइ कार्यक्रम सङ्घका महासचिव महेन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

traffice-bidhai-dharanDharan-taffice-bidhai