धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको ३१औँ वार्षिकोत्सव मनाई रहँदा त्यहाँ कार्यरत तल्लो तहका श्रमिकलाई प्रतिष्ठानले खुसी बनाउन सकेको छैन ।

प्रतिष्ठानका सरसफाइ श्रमिकको वृद्धि भएको तलब वर्ष दिन बित्दा पनि प्रतिष्ठानले भुक्तान गरेको छैन । उनीहरूले नियमित रूपमा पाउँदै आएको साउन महिनाको तलब समेत नपाएको बताएका छन् ।

प्रतिष्ठानमा १४३ जना सफाइ श्रमिक छन् । उनीहरूले २०८० साउन १ गते देखि नेपाल सरकारले ग्रेडिङमा वृद्धि गरेको २३ सय रकम नपाएको गुनासो गर्दै आएका छन् । सफाइ श्रमिकले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुसार १५ हजार रुपैयाँ मध्ये सामाजिक सुरक्षा कोषमा कटाएर मासिक तलब १३ हजार ९६७ पाउने गरेका थिए ।

गत वर्ष वृद्धि भएको थप २३ सय रुपया भने उनीहरूले अहिले सम्म पाएका छैनन् । प्रतिष्ठान परिसर बाहिर सरसफाइको ठेक्का अपुश्रीले २० वर्ष देखि पाउँदै आएको छ।

सफाइ कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यमकला मग्रातीले १ वर्ष अगाडी वृद्धि भएको २३ सय हाल सम्म नपाएको तथा भदौ अन्तिममा पनि साउन महिनाको नियमित रूपमा पाउँदै आएको तलब समेत नपाएको गुनासो गर्दै भनिन् ‘सफाइ मजदुरले कसरी घर व्यवहार चलाउने ? कहिले समयमा तलब दिँदैन ।’

काम बढ्यो, सुविधा कटौती

यसअघि प्रतिष्ठान परिसर बाहिर मात्र सरसफाइ गर्न लगाउँदै आएकोमा हाल भित्र पनि सरसफाइ गर्न लगाउन थालिएको उनले बताइन् । सफाइ मजदुरले १५ वर्षदेखि खाइपाइ आएको सेवा सुविधा समेत कटौती गरेको उनको भनाई छ ।

उनले भनिन ‘सफाइ कर्मचारीको हेल्थ कार्डबाट उपचार गर्न पाउने सुविधा कटौती गरियो, डिपिएस स्कुलको कर्मचारी र शिक्षकलाई भने त्यो सुविधा कायम छ ।’ यो विभेद किन ? उनको प्रश्न छ ।

सफाइ कर्मचारीलाई डेङगु सङ्क्रमण भई बिरामी हुँदा पनि प्रतिष्ठानले हेल्थ कार्डको सुविधालाई निरन्तरता नदिएको उपाध्यक्ष मग्रातीले बताइन ।

ठेकेदारलाई वृद्धि भएको रकम समेत भुक्तानी भइसकेको छ : रजिष्ट्रार सङ्ग्रौला 

बिपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले ठेकेदार कम्पनीलाई बिपी प्रतिष्ठानले वृद्धि भएको रकम समेत भुक्तान गरेको बताए । उनले भने ‘रकम भुक्तान गरेपछि सफाइ कर्मचारीले तलब पाए पाएनन् भन्ने सरोकार रहँदैन ।’

ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार प्रतिष्ठानले कानुन सम्मत कुरा मात्र हेर्न सकिने उनको भनाई छ । प्रतिष्ठानले केवल अपुश्री इन्टरप्राइजेज प्रालीलाई मात्र चिन्ने उनले बताए । रजिष्ट्रार सङ्ग्रौलाका अनुसार ठेकेदार कम्पनीको बेरुजु रहेकाले बेरुजु रकम असुल उपर नभइन्जेल प्रतिष्ठानले रकम भरपाई नगरेको बताए ।

बिमा मार्फत कर्मचारीलाई सेवा सुविधा  

हेल्थ कार्डको बारेमा रजिस्टार सङ्ग्रौलाले भने ‘पहिला प्रतिष्ठानबाटै कर्मचारीको उपचारमा हुन्थ्यो, हेल्थ कार्डको व्यवस्था थियो ।’ अव सरकारको नियम अनुसार प्रतिष्ठान चल्ने भएकाले सरकारको निर्णय पर्खिरहेका उनले बताए । सरकारको बिमा योजना निर्णय आउने बित्तिकै प्रतिष्ठानले कर्मचारीको सेवा सुविधा सुचारु गर्ने उनको भनाई छ ।

सरसफाइको ठेक्का पाएको अपुश्री इन्टरप्राइजेज प्रालीका सञ्चालक गोपाल श्रेष्ठले बिपी प्रतिष्ठानबाटै वृद्धि भएको तलब रकम रोकिएको कारण कर्मचारीलाई नदिएको बताए ।

उनले बिपी प्रतिष्ठानको कार्यसमिति सहित हिजो शनिवार बसेको छलफलबाट तुरुन्त रकम निकासा गरी सबै कर्मचारीलाई भुक्तानी गर्ने निर्णय भएको  बताए । बिपी प्रतिष्ठानले रकम जम्मा गर्ने बित्तिकै तत्कालै वृद्धि भएको रकम सबै कर्मचारीलाई पेस्की स्वरूप नै भएपनी दिने कुरा भइरहेको श्रेष्ठले जानकारी दिए ।