धरान : नेकपा माओवादी केन्द्रको कोशी प्रदेश परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आज आइतबार देखि सुरु भएको छ ।

बैठक भोलि सोमबार सम्म चल्नेछ । बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहभागी छन् ।

पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादीले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपमहासचिवसम्मका पदाधिकारी सहभागी भई प्रदेशको राय सुझाव लिने, प्रदेश नेताहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादीले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक गरिसकेको छ ।

कोशी प्रदेशको बैठक सकिएपछि लगत्तै मधेस प्रदेश, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ ।