धरान : भोली बिहीबार देखी शुरु हुने दोस्रो केपी राई मेमोरियल ओपन फुटसल प्रतियोगिताको प्रवर्धन निम्ति मङ्गलवार भएको आयोजक नेचर क्लब र पत्रकार महासङ्घ सुनसरी बिच भएको मैत्रीपूर्ण खेल ६-६ गोलको बारबरीमा टुङ्गिएको छ ।

प्रतियोगिता नेचर क्लब धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा हुन लागेको हो । प्रतियोगिता भदौ २९ गते सम्म सञ्चालन हुनेछ । प्रवर्द्धन खेलको अवसरमा फुटसल कपको ट्रफि सार्वजनिक गरिएको थियो ।

प्रतियोगितामा १६ टिम बिच प्रतिस्पर्धा हुने भएको छ । सहभागी टिमहरूमा धरानका आयोजक हाम्रो फुटसल, दवे, यति एफसि, स्वर्णिम क्लब, क्रन्च फिटनेस, मुन्नु एफसि, डिआर एफसि, गाईघाट, इटहरी, विराटनगर, झापा, भारतको सिक्किम र काठमाण्डौको ३ टिम रहेको आयोजक क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

विजेता टिमलाई नगद पुरस्कार २ लाख प्रदान गरिनेछ । दोस्रोले नगद १ लाख प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कारमा उत्कृष्ट खेलाडी नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदीयमान खेलाडीलाई जनाहि १० हजार रुपैयाँ रहेको छ ।

उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान १३ निवासी समाजसेवी रवि राईको दिवङ्गत पिता केपी कालीप्रसाद राईको स्मृतिमा फुटसल  आयोजना गरिएको हो । पूर्व भारतीय भूपू सैनिक राईको निधन २०७५ वैशाख १२ गते ७४ वर्षको उमेरमा धरान १३ आफ्नै निवासमा भएको थियो ।