धरान : धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र देखी मानविकी र कानुनको नयाँ विषय ‘बिए एलएलबी’ व्याचलर्स अफ आर्ट एण्ड लेजिस्लेटिभ ल’ विषय अध्यापन हुने भएको छ ।

उक्त कोर्ष ५ वर्षको रहेको क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । अध्यापन यसै शैक्षिक सत्र २०८१ देखि सुरु गर्न प्रवेश खुला गरिएको जानकारी दिएको हो ।

बिए एलएलबी पढ्नका लागि प्रवेश परीक्षा आवेदन अनलाइन खुला गरिएको क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए ।

उनका अनुसार २०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिएको थियो । अहिले स्वीकृति प्राप्त भएको हो । यो विषय अध्यापन गर्ने कोशी प्रदेशमा महेन्द्र बहुमुखी क्याम्पस धरान पहिलो भएको उनको भनाई छ ।

कोशी प्रदेशमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा बिए एलएलबी अध्यापन गराउने पहिलो महेन्द्र क्याम्पसमा ७० जनाको कोटा निर्धारण भएको छ ।

आवेदन फाराम भर्न कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि प्राप्ताङ्कको प्राथमिकता क्रमअनुसार भर्ना लिइने छ । अध्यापन सेमेस्टर प्रणालीमा हुनेछ ।

विद्यार्थीले न्यूनतम ८० प्रतिशत हाजिरी हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको नियमअनुसार २० प्रतिशत आरक्षणको व्यवस्था हुनेछ ।

सरकारी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका १० प्रतिशत विद्यार्थीले योग्यता क्रमका आधारमा छात्रवृत्ति पाउने भएका छन् ।नेपालभरका विद्यार्थीले आवेदन दिन सक्नेछन् । अन्य क्याम्पसको तुलनामा शुल्कमा सहुलियत हुने क्याम्पसले जनाएको छ । आवेदन फाराम असोज ६ गतेसम्म भर्न सकिनेछ ।

त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा कार्तिक १० गते हुने क्याम्पसले जनाएको छ । त्रिविले नै प्रवेश परीक्षा लिने भएको छ ।

Mahendra-campus-LLb