वराहक्षेत्र : ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय स्तरको लागुऔषध दुर्व्यसन विरुद्ध `पत्रिका’ प्रकाशन प्रतियोगिता कार्यक्रम गरिएको छ ।

'लागुऔषध दुरुपयोग विरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ' भन्ने मूल नाराको साथ वराहक्षेत्र नगरपालिकामा शिक्षा युवा तथा खेलकुद शाखा वराहक्षेत्र नगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो ।

लागुऔषधले जति जरा गाडेको छ त्यसको जरा फाल्न त्यति नै गाह्रो रहेको कार्यक्रमको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले बताए ।

लागुऔषधमा धेरै जसो युवाहरू फसेको उनले बताए । कारागारमा हेर्ने हो भने सजाय भोगिरहेकामा धेरै जसो लागुऔषधमा फसेको युवाहरू रहेकोले धेरै जसो युवाहरू विद्यालय स्तरबाटै लागेको कारण विद्यालयमै विद्यार्थीहरूलाई लागुऔषधबारे सचेतना कार्यक्रम दिन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए।

'गएको एक हप्तामा मात्र हेर्ने हो भने सुनसरी भरिबाट मात्र ६६ ग्राम खैरो हिरोइन, ८ सय ४६ केजी गाँजा र २ सय ४६ केजी गाँजा सहित धेरै युवाहरू पक्राउ परेको उनले बताए ।

यसरी लागुऔषधमा १ महिनामा मात्र सुनसरी भरिबाट ५ सय युवाहरू पक्राउ परेको प्रवक्ता भण्डारीले बताए । 'पक्राउ परेकाहरू मध्ये धेरै लागुऔषध तथा परिमाण भएका युवाहरूलाई कारबाही गरियो भने थोरै परिमाणमा पक्राउ परेका युवाहरूलाई परिवारको जिम्मा र कतिलाई सुधार केन्द्र पठाएको छौँ '।

बाल दिवसको अवसरमा वराहक्षेत्र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना, इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीको सहकार्य र फ्यान क्लब वराहक्षेत्र नगरपालिकाको प्राविधिक सहयोगमा ’लागु औषध दुर्व्यसन’ सम्बन्धी सचेतनामूलक फ्यान भित्ते पत्रिका प्रकाशन प्रतियोगिता कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय प्रथम, मर्निङ स्टार बोर्डिङ स्कुल दोस्रो, आदर्श मावि तेस्रो र सरस्वती मावि चौथो भएको थियो ।

विजेता भएका विद्यालयहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद रकम सहित प्रमाण पत्र प्रमुख अतिथि प्रवक्ता भण्डारी, वराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाको अधिकृत देवेन्द्र मल्ल लगायतले वितरण गरेका थिए । प्रतियोगितामा वराहक्षेत्र नगरपालिकाको १२ वटा विद्यालयहरूले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको लागी नेपाल पत्रकार महासङ्घको सदस्य भीषण राईको संयोजकत्वमा पत्रकार निशा राई र ग्रामीण पत्रकार हिरण्य कार्की सहित ३ जनाको समूहले छनौट गरेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटी सुनसरीको प्रहरी निरीक्षक विकास राई लगायत फ्यान क्लबको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।