धरान : धरानमा ४ महिना अघि साकेला हेर्न गएका १८ वर्षीय तान्सुहाङ लिम्बूको हत्या अभियोगमा पक्राउ परेका पाँच जनामध्ये दुई जनालाई सुनसरी जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

घटनामा संलग्न धरान-१९ का सुजन (गोपाल) विश्वकर्मा, दमक-२ का भुवन श्रेष्ठ, धरान-८ का समीर तामाङ, धरान-१६ का पुकार राई र धरान-१ का मनिष लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये सुजन विश्वकर्मा र पुकार राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बाँकी ३ जना नाबालक रहेकाले उनीहरूलाई ‘बाल सुधार गृह’ पठाइएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए ।

डिएसपी भण्डारीका अनुसार घटनामा संलग्न थप २ जना अझै फरार छन्। । उनले भने ‘अनुसन्धानमै रहेकाले उनीहरूको परिचय खुलाउन मिल्दैन तर, घटनामा संलग्नको पहिचान भएर उनीहरूको खोजी भइरहेको छ ।’

गत जेठ २० गते धरान-१९ मा वडाका युवाहरू साकेला हेर्न गएको बेला एक समूहले तान्सुहाङलाई स्टिलको पाइप, स्केट बोर्डले प्रहार गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते भएका तान्सुहाङलाई उपचारको लागि वीपी प्रतिष्ठानमा लगिएको थियो ।

वीपी प्रतिष्ठानले न्युरो अस्पताल विराटनगरमा रेफर गरेपछि उनलाई तत्कालै उपचारको लागि न्युरो लगियो । टाउको छाती लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका तान्सुहाङको उपचारकै क्रममा गत जेठ २३ गते मृत्यु भएको थियो ।