धरान : धरानको विजयपुरमा फेरि अजिङ्गर भेटिएको छ। एक महिनाको अवधिमा धरान-१४ मा शनिवार दोस्रो पटक अजिङ्गर भेटिएको छ ।

धरान-१४ विजयपुर डाँडा गाउँका विमान तामाङको घरमा अजिङ्गरको बच्चा भेटिएको हो । उनको घरको भान्सा कोठामा एक्कासि अजिङ्गरको बच्चा फेला परेसँगै बिजयपुरबासी आतङ्कित भएका छन् ।

स्थानीयहरूको सहयोगमा अजिङ्गर भगाउन करिब साढे ४ घण्टा लागेको धरान-१४ की वडा सदस्य झरना पौडेल सुनुवारले बताइन् । उनका अनुसार अजिङ्गर करिब ५ मिटर लामो निकै ठुलो देखिएको थियो ।

उनका अनुसार अजिङ्गर भेटिएसँगै डाँडागाउँमा अजिङ्गर हेर्न मानिसको भीड लागेको थियो । अजिङ्गर किचनको स्ल्यापमा गुटमुटिएर बसेको उनले बताइन् ।

सुनुवारका अनुसार अजिङ्गर विशेषज्ञ र अजिङ्गर समात्न पकली सशस्त्र प्रहरी गणमा फोन गरिएको थियो । तर धरान आउन समय लाग्ने बताइएकाले अजिङ्गरलाई भगाउन किचन भत्काउनु परेको उनले बताइन् ।

यसअघि धरान-१४ कै हात्तीसार क्षेत्रमा गत: महिना अजंगको अजिङ्गर फेला परेको थियो । हात्तीसार सडकको दक्षिण तर्फ झाडीको रुखमा फेला परेको अजिङ्गर सुरक्षाकर्मीका सहयोगमा समातेर हरियाली सामुदायिक बनलाई हस्तान्तरण गरिएको थियो ।