धरान : कोशी प्रदेश सरकारका उद्योग कृषि सहकारी मन्त्री खगेनसिं हाङगामले धरानमा आज शुक्रवार देखी सुरु भएको बियर महोत्सव धरानको पर्यटन प्रवर्द्धन गर्न कोशेढुङ्गा साबित हुने बताएका छन् ।

उनले मदिरा ऐनको प्रक्रिया पूरा गरी आयोजना भएको महोत्सवले धरानमा पर्यटन आकर्षणको लागि मार्ग खडा गर्ने बताए ।मदिरा उत्पादन, उद्यमशीलता र व्यवसाय कानुनी र सामाजिक रूपमा चुनौतीपूर्ण रहेतापनि मर्यादित र वैधानिक व्यवसायको रूपमा अपनाए पर्यटन व्यवसायको अङ्ग बन्ने उनको भनाई थियो ।

पूर्व प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले कुनै बेला धरान पूर्वाञ्चलको व्यापारी केन्द्र रहेको बताउँदै अहिले धरानको व्यापारिक स्थिति नाजुक बनेको बताए । उनले भने ‘मदिरा खुसी र दुखी हुँदा दुबैमा आवश्यक पर्ने चिज हो ।’

कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाउने तयारीको गरेको बताउँदै पर्यटन वर्षको सदुपयोग गर्दै उद्योग र उत्पादनलाई साथै राखेर बढी भन्दा बढी फाइदा लिन आग्रह गरे ।

कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले अत्यधिक मदिरा सेवनका कारण सुरक्षामा चुनौती रहेको बताए  । उनले प्रहरीको दायित्व सुरक्षा प्रदान गर्ने भएतापनी रमाइलो गर्दा अरूलाई असर नगर्ने गरी रमाइलो गर्न आग्रह गरे ।

सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष विजय श्रेष्ठले वर्तमान अवस्था आर्थिक मन्दीका कारण व्यापार व्यवसाय समस्याग्रस्त रहेको बताए । उनले बियरको विषयमा उपभोक्तालाई आवश्यक जानकारी दिन बियर महोत्सव आयोजना गरिएको बताए ।

नेकपा एमाले धरान अध्यक्ष हर्क जङ एभेङले उद्योगी व्यापारीहरू धरानका नगर प्रमुख हर्क साम्पाङबाट प्रताडित भई धरानबाट बसाई सर्ने क्रम रहेको बताए । धरानका व्यापारी र उद्योगीलाई जोगाउन सबै एक जुट हुनुपर्ने उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद ममता तामाङ योञ्जन, यशोदा कायस्थ पनि उपस्थित थिए । महोत्सव उद्घाटन कार्यक्रमको सभापतित्व मदिरा व्यवसायी सङ्घका अध्यक्ष नवीन तामाङले गरेका थिए ।

beer-expo-4Beer-expo-3beer-expo