धरान : धरान स्थित विजयपुर हस्पिटलमा उपचार गराउँदा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर तथा बचतकर्ताहरूलाई २० प्रतिशत छुट पाउने भएका छन् ।

नेशनल लघुवित्त र धरान १० स्थित विजयपुर हस्पिटल बिच सोमवार भएको लिखित सम्झौता अनुसार लघुवित्तका शेयर सदस्य तथा बचतकर्तालाई उपचारमा छुट पाउने भएका हुन।

सम्झौतामा लघुवित्तका अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्मा र विजयपुर हस्पिटलका सिइयो डा.पङ्कज खतिवडाले हस्ताक्षर गरेका छन् । सहमति अनुसार हस्पिटलले ४ प्रकारको सेवामा छुट दिने सहमति भएको अनुगमन अधिकृत विश्वकर्माले बताए ।

उनका अनुसार बिरामी भर्ना र बेड चार्जमा १५ प्रतिशत, अप्रशेन चार्जमा ५ प्रतिशत, अनुसन्धान केसमा १० प्रतिशत र मेडिसिन चार्जमा ५ प्रतिशत छुट दिने सहमति भएको छ ।

उनले हस्पिटलसँग एक वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको बताए । यो अवधि भित्र संस्थामा आबद्ध देशभरकै बचतकर्ता तथा शेयर सदस्यले विजयपुर हस्पिटलमा सेवा लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

उक्त सुविधा प्राप्त गर्न बचतकर्ता र शेयर सदस्यले लघुवित्तले दिएको हेल्थ कार्ड दिएर हस्पिटल जानु पर्नेछ ।

हस्पिटलका डा. खतिवडाले लघुवित्तले शेयर सदस्य, बचतकर्ताहरूको स्वास्थ्य शिविर आयोजना गरे सहकार्य पनि गर्ने सहमति भएको बताए । उनले भने ‘लघुवित्तले सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गरेमा हस्पिटलले प्राविधिक सहयोग गर्नेछ ।

लघुवित्तले गर्ने स्वास्थ्य शिविरमा हस्पिटलले दन्त परीक्षण, आँखा र पाठेघर सहित गाईनो सम्बन्धी आवश्यक डाक्टर र नर्स हस्पिटलले उपलब्ध गराउने छ ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त क्षेत्रमा नेपालको ‘घ’ वर्गको वित्तीय संस्था हो । ग्रामीण तथा सहरी वित्तीय पहुँच पुर्यााउदै आएको संस्थामा २ लाख ३० हजार बचतकर्ताहरू छन् ।

लघुवित्त नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको रूपमा सन् २०१३ अक्टोबरमा स्थापना भएको हो । २०२३ जुलाई १५ मा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भएर ‘नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड’ बनेको हो ।

धरानमा लघुवित्तको कार्यालय वडा १ लक्ष्मी सडकमा रहेको छ ।