• रमेश थापा

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका-५ स्याबरुम्बामा सञ्चालित प्रथम सृजनाहाङ युवा गोल्डकपको उपाधि आयोजक 'बि' स्याबरुम्बाले हात पारेको छ । 

बुधवार महेन्द्रदय माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा रानीगाउँ युवा क्लब विरुद्ध २-० को जीत निकाल्दै सृजनाहाङ युवा सांस्कृतिक क्लबले उपाधि हात पारेको हो । उपाधिको लागि आयोजकको तर्फबाट शिशिर लिम्बू र लोकेन्द्र थापाले गोल गर्दै आयोजकलाई जित दिलाए । 

प्रतियोगिताको सुरुवाती समयको २१ औ मिनेटमा कर्नर किकको सदुपयोग गर्दै आयोजकका हेमन्त दर्नालले गरेको पासलाई सदुपयोग गर्दै शिशिर लिम्बूले सुन्दर गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा लोकेन्द्र थापाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

प्रतियोगिताको विजेता आयोजक 'बि' ले नगद ५० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । भने उपविजेतामा खुम्चिएको रानीगाउँ युवा क्लबले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि मदन चाम्लिङ र क्लबका अध्यक्ष बिबि कुमार चेम्जोङले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको तर्फबाट सर्वोत्कृष्ट खेलाडी, सुशील लावती, सर्वाधिक गोलकर्ता लोकेन्द्र थापा, राइजिङस्टार निश्चल बस्नेत, उत्कृष्ट गोलरक्षक सविन राई र बेष्ट डिफेण्डर बेगम गुरुङ घोषित भए । त्यस्तै रानीगाउँ युवा क्लबको तर्फबाट बेस्ट फरर्वड किशोर सम्बाहाम्फे र बेष्ट मिडफिल्डर निश्चल सम्बाहाम्फे घोषित हुँदै नगद सहित ट्रफि, मेडल हात पारेका थिए । 

चाडपर्वको अवसरमा असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका १२ टिमको सहभागिता रहेको आयोजक सृजनाहाङ युवा सांस्कृतिक क्लबका अध्यक्ष बिबि कुमार चोम्जोङले जानकारी दिए ।