धरान : खुकुरी प्रहारबाट आन्द्राभुँडी बाहिर निस्केका एक घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी १० दिन आइसियुमा राखेर प्रतिष्ठानकै खर्चमा ज्यान बचाएको छ ।

गत भदौ २९ गते रातको समय परिवारीक वादविवादको निहुँमा धनकुटा जिल्ला, महालक्ष्मी नगरपालिकाका ३० वर्षीय विजय पोख्रेल दर्जीले आफूले आफैलाई पेटमा खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट उनको आन्द्राभुँडी बाहिर निस्किएको थियो ।

घटना थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेर गम्भीर अवस्थाका दर्जीलाई एम्बुलेन्सबाट धनकुटा जिल्ला अस्पताल पुर्‍याइएको थियो । जिल्ला अस्पतालले रेफर गरे अनुसार घाइतेलाई भोलीपल्ट वीपी प्रतिष्ठानमा ल्याइएको प्रतिष्ठानका सह-प्रवक्ता डा.अभिजीत कुमारले बताए ।

उनका अनुसार घट्नाको १० घण्टापछि आन्द्रा कुहिएको अवस्थामा बिहान ८ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा घाइतेलाई ल्याइएको थियो । उनका आफन्त समेत नभएकोले प्रहरीसँग समन्वय गरी उपचार गरिएको हो ।

भदौ ३१ गते शल्यक्रिया गरेर पेटमा जमेको रगत निकालियो । कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडियो । शल्यक्रियाको लागि करिब ४ घण्टाको समय लागेको थियो । सह-प्रवक्ता अभिजितका अनुसार शल्यक्रियापछि दर्जीलाई १० दिन भेन्टिलेटरमा राखेर जीवन रक्षा गरिएको हो ।

उपचारमा प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको टिमले तदारुकता अपनाएकोले उपचार सम्भव भएको उनले बताए ।

रगत निकै बगिसकेकोले नाजुक अवस्थामा वीपी ल्याइएका दर्जीको अभिभावक कोही पनि नभएकाले उपचार, शल्यक्रियाका अत्यावश्यक जाँच परीक्षण, रगतको व्यवस्था, औषधी, शल्यक्रियामा चाहिने सामाग्रीको व्यवस्था समेत थिएन ।

घाइतेको कोही नभएको र गम्भीर अवस्था देखिएकाले अस्पताल निर्देशक डा.जगत् नारायण प्रसादले सिफारिस गरे अनुसार उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सम्पूर्ण खर्चको छुट सुविधा मिलाएकोले दर्जीले पुनर्जीवन पाएको सह-प्रवक्ता अभिजितले बताए ।

BP-treatment-2