धरान : उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले वर्तमान नगर प्रमुख हर्क साम्पाङले नियतवश स्थानीय सरकार सञ्चालन ऐन, नियम र उपमहानगरपालिकाकै नियमावली उल्लङ्घन गरी खराब नियतले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको बताएका छन् ।

आफ्नो कार्यकालको उदाहरण :

धरानमा कार्यवाहकको विवाद चर्चामा आएपछि धेरैले आफूलाई फोन गरेर सोध्ने गरेकोले आज बुधवार पत्रकार सम्मेलन गरेर निवर्तमान नगर प्रमुख राई आफ्ना भनाई सार्वजनिक गरेको बताएका छन् ।

उनले आफ्नो कार्यकालमा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा मात्र वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको प्रष्ट पारे । राईले भने ‘कहिले पनि उपप्रमुख हुदाँहुदै वडा अध्यक्षलाई मैले कार्यवाहक तोकिन ।’

कार्यवाहकको जिम्मेवारी दिँदा ऐन, नियमको दफा उपदफा उल्लेख गरी औपचारिक रूपमा शुभकामना समेत दिने चलन भएको बताउँदै उनले भने ‘अहिलेका नगर प्रमुखले पत्रमा कुन ऐन, नियमको दफा अनुसार कार्यवाहकको जिम्मेवारी दिइएको हो त्यो नै उल्लेख छैन ।’

पत्रमा नै कानुनी औपचारिकता नभएको उल्टो यो-यो काम नगर्ने भनी सर्त राखिएकाले व्यक्तिगत घरको जिम्मेवारी दिएको जस्तै जिम्मेवारी दिनु र लिनु दुवै गलत भएको बताए । उनले भने ‘जिम्मेवारी लिनुहुने अध्यक्ष ज्युले पनि पत्र ऐन, कानुन अनुसार छ छैन पदीय मर्यादा अनुसार हेर्नु पर्थ्यो ।’

उपमहानगरपालिकाकै नियमावलीको उल्लङ्घन

निवर्तमान प्रमुख राईले कार्यवाहक जिम्मेवारी दिने विषयमा धरान उपमहानगरपालिकाको आफ्नै पनि नियमावली भएको बताए । उक्त नियमावलीमा प्रमुख वा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा कार्यवाहक तोक्ने व्यवस्था छ ।

त्यसमा पनि प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा कोही एक वडा अध्यक्षलाई कार्यवाहक तोक्ने व्यवस्था भएको उनले बताए ।

उनका अनुसार उपमहानगरपालिकाको नियमावलीमा ७ दिन सम्मको अनुपस्थितिमा कार्यवाहक तोक्ने व्यवस्था भएकोमा आफ्नो कार्यकालमा त्यसलाई घटाएर ३ दिन अनुपस्थित हुँदा पनि कार्यवाहक तोक्ने व्यवस्था गरिएको हो ।

दलहरूलाई भिडाएर काम ठप्प गर्न कार्यवाहकको फण्डा

उनले नगर प्रमुख हर्क साम्पाङले राजनीतिक दलहरूलाई आपसमा भिडाएर उपमहानगरपालिकामा विवाद गराउन खराब नियतले ऐन नियम उल्लङ्घन गरी कार्यवाहकको फण्डा गरेको बताए । भने ‘हर्क साम्पाङ यस्तो फण्डा गर्न माहिर छन् ।’

राजनीतिक दलहरूमा विवाद उत्पन्न भएपछि त्यसको प्रभावले उपमहानगरपालिकाको कर्मचारीमा अन्यौलता उत्पन्न हुने, त्यस्तो अन्यौलतामा दैनिक काम कारबाही समेत ठप्प हुने अवस्था सिर्जना गर्ने नगर प्रमुख साम्पाङको नियत भएको उनले बताए ।

निवर्तमान प्रमुख राईले भने ‘उनी फर्की नआए सम्म नगरपालिकामा कुनै काम नहोस् भन्ने हर्क साम्पाङको उद्देश्य हो ।’ त्यो कुरा उनले कार्यवाहकलाई दिएको पत्रमा राखेको सर्तहरूबाट पनि सजिलै बुझ्न सकिने बताए ।

उनले भने ‘अब हर्क साम्पाङ फर्किआएपछि भन्ने छन्, देख्यौ यी दलहरूले केही गर्दैनन्, धरानमा म बाहेक अरू कसैले केही गर्ने सक्दैन ।’

व्यक्तिगत भ्रमणलाई चर्चामा ल्याउने उद्देश्य :

नगर प्रमुख हर्क साम्पाङले आफ्नो व्यक्तिगत भ्रमणलाई चर्चामा ल्याउन पनि कार्यवाहकको फण्डा गरेको उनले बताए । राईले भने ‘यो उनको व्यक्तिगत भ्रमण हो, सरकारी काममा उनी गएका होइनन् ।’ सुम्निमा पारुहाङको लागि आर्थिक सङ्कलन गर्न गएका उनले यसलाई चर्चामा ल्याउन पनि युट्युबर लगाएर अरू पनि काम रातारात खिचाएका छन् ।

उनी विदेश गएको भनी सबै भन्दा बढी चर्चा भने कार्यवाहकको विवादले गराएको बताए । सुम्निमा पारुहाङको प्रतिमा स्थापना गर्ने निर्णय उपमहानगरपालिका कार्यपालिका बैठकले निर्णय गरेको बताउँदै उनले भने ‘त्यसको लागि बैङ्क खाता खोल्ने सङ्कलित रकम खातामा जम्मा गर्ने निर्णय भएको थियो ।’

तर खाता खोले पनि अहिले सम्म उठेको रकम जम्मा नभएको, खर्च भएको कुराको पनि जानकारी नभएको बताउँदै भने ‘प्रतिमाको लागि रकम सङ्कलन गर्ने कार्य राम्रो हो तर यसलाई पारदर्शी बनाउनु पर्दछ ।’

कार्यवाहकको पत्रमा दलहरू माथि आक्षेप

नगर प्रमुख साम्पाङले कार्यवाहक प्रमुखका लागि दिएको पत्रमा राजनीतिक दलहरूमाथि आक्षेप लगाउँदै राखेको शर्तप्रति निवर्तमान नगर प्रमुख तिलक राई आपत्ति जनाए ।

पत्रको बुँदा नं. ३ मा ‘दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड छानबिन र अनुसन्धानको प्रक्रियामा रहेकोले जस्तो छ त्यस्तै राख्ने । मर्मत नगर्ने ।’ भनी उल्लेख छ ।

उनले भने ‘त्यो बुँदाले तोडफोड दलहरूले गरेको साबित गर्न खोजेको छ र कार्यवाहकको जिम्मेवारी लिनेले त्यसलाई स्वीकार गरेको बुझिन्छ ।’ उनले प्रश्न गरे आन्दोलनमा भएको सामान्य कुरालाई दलहरूले तोडफोड गरेको भन्न मिल्छ ?

काँग्रेसले आन्तरिक छलफल गर्दैछ :

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेको निवर्तमान नगर प्रमुख राईले पत्रकारहरूको प्रश्नमा कार्यवाहकको विवादका बारेमा काँग्रेसमा आन्तरिक छलफल भइरहेको बताए ।

आफूले आधिकारिक रूपमा काँग्रेसको भनाई राख्न पत्रकार सम्मेलन नगरेको बताउँदै भने ‘यसबारे काँग्रेसको भनाई राख्ने दायित्व उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारीको दायित्व हो ।’