वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.२ चतरामा रहेको चतरा अस्पतालले सेवा निवृत्त भएका ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद १ लाखद्वारा सम्मान सहित बिदाइ गरेको छ ।

शुक्रवार चतरा अस्पतालले आयोजना गरेको स्वागत, सम्मान कार्यक्रममा अस्पताल मार्फत सामुदायिक स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा पुर्‍याएका दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर र तारा भुजेललाई नगद १ लाख सहित सम्मान पत्रले सम्मान गर्दै बिदाइ गरिएको हो ।

उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ सहित पूर्व पदाधिकारीलाई सम्मान, उत्कृष्ट कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत, नवनियुक्त कर्मचारीलाई स्वागत तथा तथा पूर्व कर्मचारीहरूलाई फेरी भेटौला कार्यक्रम गरी बिदाइ गरिएको थियो ।

जसमा अस्पताल व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष युवराज भट्टराई, पूर्व सदस्य प्रह्लाद भट्टराई र गोपाल शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रूपमा कल्पना श्रेष्ठ सम्मानित भएकी थिइन् । उनले नगद ५ हजार सहित सम्मान पत्र प्राप्त गरेकी थिइन् ।

आर्थिक वर्ष २०७९ /०८०  मा महिलातर्फ उत्कृष्ट कर्मचारी सविना कटुवाल पुरुषतर्फ टीकाराम राई त्यस्तै उत्कृष्ट कर्मचारी आर्थिक वर्ष २०८०/०८१ मा महिलातर्फ पुष्पा साह र पुरुषतर्फ यम बहादुर भण्डारी घोषित भए । उनीहरूलाई नगद १५/१५ हजार सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नवनियुक्त कर्मचारीलाई स्वागत तथा पूर्व कर्मचारीहरूलाई फेरी भेटौला कार्यक्रम गरी बिदाइ गरिएको अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले बताए ।

कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश सभा सदस्य ममता तामाङ, विशिष्ट अतिथि कोसी प्रदेश सभा सदस्य यशोदा कायस्थ, चतरा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिकृष्ण भट्टराई, वडाका जनप्रतिनिधि, राजनैतिक दलका पदाधिकारीहरू, व्यवस्थापन समितिका पदाधिकारी लगायत अतिथि रहेका थिए ।

चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतमको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष प्रदीप बस्नेतले राखेका थिए ।

आयुर्वेदिक सेवा सुरु

अस्पतालले आयुर्वेदिक सेवा सुरु गरेको छ । अस्पतालले व्यवस्थापन समितिमार्फत आयुर्वेदिक सेवा सुरु गरेको हो । अस्पतालले आयुर्वेदिक डाक्टर दिव्य सोनालीमार्फत सेवाग्राहीहरूलाई सेवा तथा परामर्श दिने अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले बताए ।

Chatra-Hospital-1