वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा प्रथम वराहक्षेत्रमा टी-20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त प्रथम वराहक्षेत्र टी-20 क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । वराहक्षेत्र नगरपालिका वडा नं.२ तेह्र आरडि स्थित खेलमैदानमा कात्तिक ८ गतेदेखि १३ सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए ।
प्रतियोगिताको बारे सोमवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा प्रथम अतिथि वराहक्षेत्र नगरपालिका वडा नं.७ का अध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य रहेका थिए ।
करिब ७ लाख अनुमानित गरिएको प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार सहित ट्रफि र प्रमाण पत्र र दोस्रो पुरस्कार नगद २१ हजार सहित ट्रफि र प्रमाण पत्र रहेको छ ।
खेलमा दैनिक म्यान अफ द म्याच र विधागत उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्राप्त गर्नेछन् । खेल आइसिसीको नियम अनुसार हुनेछ ।
वराहक्षेत्र क्रिकेट क्लब ए वराहक्षेत्र, न्यु कोशी युवा क्लब कोशी, बजरङ्गी क्रिकेट क्लब भोक्राहा, इटहरी जाइन्जर क्रिकेट क्लब इटहरी, फूलबारी क्रिकेट क्लब इनरुवा, सुनसरी युवा क्लब भोक्राहा, वराहक्षेत्र क्रिकेट क्लब 'बि' वराहक्षेत्र र रामधुनी क्रिकेट क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक आयोजना हुने प्रतियोगिताको नारा 'नेपालीको शान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान' रहेको छ ।









































































