धरान : धरान वडा १५ र ५ बाट बग्ने सेउती, अधेरी र मसाने खोलामा वर्षाको बेला आउने बाढी नियन्त्रणका लागि सङ्घीय सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटको काम तत्काल सुरु गर्न अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको छि ।
जलस्रोत तथा ऊर्जा मन्त्रालयको कोशी तथा बक्रहा नदी व्यवस्थापन आयोजना प्रमुख रञ्जन भट्टराई सहितको टोली तत्काल उक्त ३ खोला नियन्त्रणको काम सुरु गराउन धरान आएको हो ।
आयोजना प्रमुख भट्टराईले भने ‘धरान १५ र ५ मा सेउती, अधेरी र मसाने खोला नियन्त्रणमा जलस्रोत तथा ऊर्जा मन्त्रालयले ५ करोड बजेट विनियोजन गरेको छ, त्यसलाई तत्काल कार्यान्वयन गर्न स्थलगत अनुगमनमा आएका हौँ ।’
बजेट विनियोजन भएकोले स्थलगत अनुगमन लगत्तै खोला नियन्त्रणको कामका लागि लागि ठेक्का प्रक्रिया सुरु हुने उनले बताए । योजना प्रमुख सहितको टोलीले ३ वटै खोलाको अनुगमन गरेका छन् । उनले काम चाँडै सुरु हुने बताए ।
वर्षामा बाढी आएर जनधनको क्षति गर्ने धरानको बर्खे खोला नियन्त्रणका लागि जलस्रोत तथा ऊर्जा मन्त्रालयसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवोको पहलमा बजेट व्यवस्था भएको हो।