धरान : तिहार नजिकिएको बेला मौका छोपी लागुऔषधको कारोबारीहरू सक्रिय भएका छन् । शान्ति सुरक्षामा केन्द्रित प्रहरीबाट भने उम्कन उनीहरूलाई कठिन छ ।

प्रहरीले आइतबार मात्र ब्राउनसुगर र लागुऔषध सहित १२ जनालाई ठाउँ ठाउँमा भटाभट पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इटहरी-६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाईँ र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर पक्राउ गरिएको छ ।

इटहरी-१६ का २० वर्षीय अमन चौधरी र इटहरी-१७ का २० वर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

भोक्राहा नरसिंह-४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

इनरुवा-५ का २५ वर्षीय प्रेमकुमार खंग र इनरुवा-३ का २८ वर्षीय शङ्कर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो।

यसैगरी झापाको  मेचीनगर-६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङ उर्लाबारी-३ का २१ वर्षीय अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

बेलबारी-१० भाउन्नेका १७ वर्षीय आर्यन धिमाल र २० वर्षीय दीपेश राईलाई निषेधित ट्रामाडोल ५०० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित प्रहरी चौकी डाँगीहाटको प्रहरी टोलीले पक्राउ गरेको छ ।

त्रियुगा-३ का २० वर्षीय केवल चौधरीलाई निषेधित एम्पुल १८ वटा, ६० ट्याब्लेट नाईट्रोभेट सहित उदयपुरको लालपता प्रहरी चौकीले पक्राउ गरेको छ ।