धरान : साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा ८८ प्रतिस्पर्धीलाई उछिन्दै पुनः विजेता बनेका छन् ।

इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फिनाले राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे भने तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेतालाई प्रायोजक मुनबिम एकेडेमीका प्रधानाध्यापक देवेन्द्र विष्ट, कोशी प्रदेशकी सांसद सपना परियार, बराहक्षेत्रका नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य र वडाध्यक्ष रोहित काफ्लेले पुरस्कार वितरण गरेका थिए ।

कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले चतरा नहरमा ढुङ्गा हुइक्याउँदै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता अघि कोशी प्रदेशका सांसदहरू विजयकुमार राई, ममता तामाङ, सपना परियार, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका साथै वडाध्यक्षहरूले 'स्टोन स्किप' गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले पानी सुल्के प्रतियोगिताले बाल्यकालको सम्झना पुनरावृत्ति गराएको बताए । उनले कोसी नदी किनारका बस्तीहरूको आर्थिक, सामाजिक र ग्रामीण जनजीवनसँग जोडिएको खेललाई राष्ट्रिय स्तरमा लानु पर्ने विचार राखे । मन्त्री मण्डलले पानी सुल्के खेललाई सूचीकृत गर्न नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले स्वागत मन्तव्य व्यक्त गर्दै पानी सुल्के प्रतियोगिता बराहक्षेत्रको मौलिक खेल भएको बताए । 

'पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता' भन्ने नाराका साथ खेल पर्यटनको विकासका लागि चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको सहआयोजनामा प्रतियोगिता आयोजना गरेको संयोजक नवराज विष्टले जानकारी दिए । 

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गरिएको चतरा हाइकिङका संस्थापक तथा निर्णायक विजयकुमार राउतले जानकारी दिए । प्रतियोगितामा चतरा हाइकिङका संस्थापक भीषण राई, राजन घिमिरे निर्णायकका रुपमा रहेका थिए । 

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा  नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । 

नेपालमा भने गत वर्षदेखि सुनसरीको चतरा नहरमा प्रतियोगिता आयोजना भइरहेको छ ।

Stone Skiping 2