धरान : दुनियाँको सबैभन्दा शक्तिशाली लोकतान्त्रिक देश अमेरिकाको भावी राष्ट्रपति चुनावको लागि आज मतदान हुँदैछ ।

यसपालिको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बिचमा प्रतिस्पर्धा हुँदैछ ।

यसपालिको चुनावमा दुई उम्मेदवार बिच सिधा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ ।

मतदान आज मङ्गलवार नेपाली समय अनुसार साढे ४ बजे सुरु भएर भोली बुधवार बिहान सम्म चल्नेछ ।

यसअघि अमेरिकी राष्ट्रपतिको चुनावमा विजेताको घोषणा औपचारिक वा अनौपचारिक रूपमा मतदानकै दिन वा भोलि पल्ट हुने गरिन्थ्यो । यसपालि भने सिधा कडा प्रतिस्पर्धा हुने देखिएकाले त्यस्तो हुन नसक्ने विश्लेषकहरूले बताएका छन् ।

कडा प्रतिस्पर्धाको कारण यसपालि राष्ट्रपति चुनावको नतिजाको घोषणा केही दिन लाग्न सक्ने अनुमान गरिएको बीसीसीले जनाएको छ ।

पेंसिल्वेनिया जस्ता केही स्विंग स्टेटमा थोरै मात्र मतान्तर हुनसक्ने सम्भावना भएकोले त्यस्तो भएको अवस्थामा दोहोर्‍याएर मत गणनामा हुनसक्ने अवस्था पनि आउन सक्ने बताइएको छ ।

यसअघि सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतिको चुनावका लागि ३ नोभेम्बरमा मतदान भएको थियो । त्यसको नतिजा अमेरिकी टेलिभिजन नेटवर्कमा ७ नोभेम्बरमा जो बाइडेन विजयी भएको घोषणा भएको थियो ।