इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान उडेका ३ जना सहित ६ जना पक्राउ परेका छन् । मुख्यमन्त्रीलाई जानकारी नगराई जापान गएका अधिकारीले विवादमा परेपछि पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्लाई जानकारी नभएको र परराष्ट्र मन्त्रालयको अनुमति बिना नै जापान गएपछि उनी माथि प्रश्न उठेको थियो । प्रश्न उठेसँगै नैतिकताको आधारमा उनले राजीनामा दिएको बताए । तर राजीनामाले नधान्ने गरी उनी माथि आशङ्का उब्जिएको छ ।
उनीसँगै जापान गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा छन् ।टोकियोस्थित जापानको अध्यागमन कार्यालयले कार्तिक १४ मा मन्त्री सहित अन्य ३ जनालाई डिपोर्ट गरेपछि विषय बाहिर आएको हो । मन्त्री अधिकारीले पनि टोकियो पुगेपछि लगत्तै फर्किएको स्वीकार गरेका छन् ।
त्रिभुवन विमानस्थलमा ओर्लिएपछि भने मन्त्री बाहेक अन्य ३ जनालाई अध्यागमन कार्यालय र विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धानको जिम्मा लगायो । तीन जनाको बयानको आधारमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । थप पक्राउ पर्नेमा धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
डिपोर्ट भएर आएका शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर-२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । कञ्चन देवकोटा र जनक राईको साथमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र रहेको प्रहरीले जनाएको छ ।
आरोपीहरूको थप बयानका आधारमा अधिकारी पनि अनुसन्धानको दायरमा आउन सक्ने भएका छन् । अनुसन्धानमा तानिए अधिकारी मुद्दामा प्रतिवादी बन्ने देखिन्छ । नैतिकताको आधारमा राजीनामा दिएका मन्त्रीमाथि अनुसन्धान हुनसक्ने बताइएको छ ।