अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयले विश्व अर्थतन्त्र तरङ्गित भएको छ । पुँजीपति ट्रम्पको पुनरागमनलाई अमेरिकासँगै युरोप र एसियाका सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएका छन् । कच्चा तेलको र सुनको भाउ भने खस्किएको छ ।

ट्रम्प 'संरक्षणवादी नीति' अख्तियार गर्छन् । उनले पहिलो कार्यकालमा सुरुवात गरेको 'ट्यारिफ वार'ले विश्व व्यापार सङ्गठनका प्रावधानलाई भत्काउने काम गरेको थियो ।

अमेरिकी कम्पनीहरूको रक्षा गर्ने नाममा अघिल्लो कार्यकालमा ट्रम्पले विभिन्न मुलुक विशेष गरी चीनसँग व्यापार युद्ध (ट्रेड वार) नै सुरु गरे । तर, नयाँ अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई विश्वका इक्विटी बजारहरूले स्वागत गरेका छन् ।

ट्रम्पको पुनरागमनमा सबैभन्दा उत्साही बिटक्वाइन देखिन्छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमन निश्चित भएपछि ८ प्रतिशतले बढ्दा बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गर्न पुग्यो । बिटक्वाइनको मूल्य एकै दिन ६६ सय डलरभन्दा बढीले वृद्धि भएर ७६ हजार डलरनजिक पुगेको छ । अन्य क्रिप्टोमा पनि लगानीकर्ताको मनोबल उच्च देखिएको छ ।

अमेरिकालाई 'विश्वको बिटक्वाइन महाशक्ति' बनाउने ट्रम्पले बाचा पनि गरेका छन् । उनी विभिन्न क्रिप्टो कम्पनीमाथि कानुनी कारबाही चलाएको नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गारी गेन्सलरप्रति खुसी छैनन् । उनले चुनावी अभियानका क्रममा गारीलाई बर्खास्त गर्ने बताइसकेका छन् ।

अघिल्लो महिना मात्रै आफ्नो प्रशासनले डिजिटल मुद्रा अनुकूल नियमनको वातावरण मिलाउने र बाइडेन प्रशासनको क्रिप्टोमाथिको युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए । बिटक्वाइनमा ट्रम्पका चुनावी अभियन्ता इलोन मस्कको ठुलो लगानी छ । मस्क र उनको कम्पनी टेस्लाले सन् २०२१ मा बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलर लगानी गरेको थियो ।

अमेरिकाको सेयर बजारमा 'स्मल-क्याप (थोरै पुँजी) कम्पनीहरूको कारोबार हुने इन्डेक्सरसेल २००० इन्डेक्स’ले सबैभन्दा सकारात्मक प्रतिक्रिया जनाएको छ । यो इन्डेक्स ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो, जुन यसको दुई वर्षयताको सबैभन्दा ठुलो एक दिवसीय वृद्धि हो ।

'हाम्रो प्लेटफर्मले असाधारण प्रतिक्रिया साक्षात्कार गरेको छ । दैनिक कारोबारको भोल्युममा सात गुणाले वृद्धि भयो । साइन अप गर्नेको सङ्ख्या ३० प्रतिशतले वृद्धि हुँदा दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा ५० प्रतिशतको उछाल देखियो । यसले ट्रम्पको जितप्रति लगानीकर्ताको उत्साहलाई नै प्रतिबिम्बित गर्छ,’ इकोनोमिक्स टाइम्सले अमेरिकी बजारमा भारतीय लगानीकर्तालाई सघाउने 'इन्भेस्टमेन्ट प्लेटफर्म' भेस्टेड फाइनान्स’का सिइयो भिराम साहलाई उद्धृत गर्दै भनेको छ ।

ट्रम्पले आयातित माल वस्तुमा उच्च महसुल लगाउँदा घरेलु कम्पनीहरू लाभान्वित हुने अपेक्षामा 'स्मल क्याप’का लगानीकर्ता उत्साहित देखिएका हुन् ।

कति धनी छन् ट्रम्प ?

अमेरिकी पुँजीपति ट्रम्प फेरि एक पटक ह्वाइट हाउस प्रवेश गर्दै छन् । फोर्ब्स बिलिनियर रिपोर्टका अनुसार ट्रम्पसँग करिब ६.६ अर्ब डलर बराबरको सम्पत्ति छ । पहिलो पटक राष्ट्रपति निर्वाचन लड्ने घोषणा गर्दा सन् २०१६ मा ट्रम्पसँग ४.५ अर्ब डलर सम्पत्ति थियो ।

एजेन्सी