धरान : झण्डै सय वर्ष अघि समाज सुधारक फाल्गुनन्दले स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ले पूर्व लिम्बुवानको तत्कालीन समाजमा युगान्तकारी सुधार ल्याउन अतुलनीय योगदान गरेका थिए ।

राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औँ जन्म जयन्तीको अवसरमा आज आइतबार बिहान आयोजित कार्यक्रममा उनको तस्बिरमा माल्यार्पण गर्दै योगदानको चर्चा गरिएको हो । जन्म जयन्ती किरात याक्थुङ चुम्लुङ सुनसरीले आयोजना गरेको हो ।

फाल्गुनन्दले लिम्बुवानको सामाजिक, सांस्कृतिक तथा धार्मिक कुरीतिहरूको सुधारका निम्ति विक्रम सम्बत १९८८ वैशाख २४ गते ‘सत्य धर्म मुचुल्का’को नीति स्थापना गरेका थिए ।

फाल्गुनन्दको देहान्त भएको ६१ वर्ष पछि उनको समाज सुधारका कदम अतुलनीय रहेको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई ‘राष्ट्रिय विभूति’ घोषित गरेको थियो । फाल्गुनन्दको ५३ वर्षको उमेरमा २००५ सालमा देहान्त भएको थियो ।

उनको जन्म विक्रम संवत् १९४२ साल कात्तिक २५ गते आइतबार लिम्बुवानको माङसेबुङ गाउँपालिका वडा नं २, साबिक इभाङ-५ मा भएको थियो ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले फाल्गुनन्दले लिम्बु समाजलाई प्रगतिशील मार्गका अघि बढाउन युगान्तकारी भूमिका खेलेको बताए । उनले भने ‘तत्कालीन समाजलाई सुधारको मार्गमा अघि नबढाएको भए हाम्रो समुदाय अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’

चुम्लुङका केन्द्रीय उपमहासचिव डा.योगन्द्र पालुङवाले पछिल्लो समय फाल्गुनन्दले प्रतिपादन गरेको किरात धर्मको बारेमा भइरहेको टिका टिप्पणी बारेमा भने ‘धर्मको नाम जे भए पनि आदिवासी लिम्बु समुदाय प्रकृति पूजक हुन, यसमा कुनै द्विविधा नभएकाले नामकै बारेमा बहस गरिरहनु निरर्थक छ ।’

चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले फाल्गुनन्दले जुन समयमा समाज सुधारका कदम चाले त्यसैले सामाजिक चेतनका साथै याक्थुङ लिम्बु समुदायमा राजनीतिक चेतना उजागर गरिदिएको लिम्बुवानमा उनले चलाएको अभियानबाट बुझ्न सकिने बताइन् ।

लिम्बु विद्यार्थी मञ्च सुनसरीकी कोषाध्यक्ष आरती नेम्वाङले धर्मका नाममा भइरहेको बहस सकारात्मक परिणामका लागि हुनुपर्ने बताउँदै स्पष्टता विहीन बहसले समुदायलाई अन्योलमा पार्ने बताइन् ।

चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङको सभापतित्वमा भएको कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश ईङवारम, चुम्लुङ नगर उपाध्यक्ष ललिता नेम्वाङ, प्रदेश नं १ पूनःनामाङ्कन संयुक्त सङ्घर्ष समितिका शिवहाङ राई लगायतले फल्गुनन्दको बारेमा धारणा राखेका थिए ।

कार्यक्रम जिल्ला उपाध्यक्ष स्वर्णिमहाङ लिम्बुले सञ्चालन गरेका थिए ।