वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ चतराधाम स्थित कुम्भ स्थलबाट पन्ध्र दिने वृहत् वराहक्षेत्र पदयात्रा आज सोमवार वराहक्षेत्र नगरपालिकाको चक्रघट्टी आइपुगेको छ ।

१५ दिवसीय वृहत् वराहक्षेत्र धार्मिक पदयात्रा १३ गतेबाट सुरु भएको थियो । सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गरेर तीर्थयात्रीको टोली चक्रघट्टी आइपुगेको हो ।

परिक्रमा सहभागी तीर्थयात्रीहरूलाई वडा नं.८ स्थित शुक्रवारेमा पुगेर स्वागत तथा कार्यालयमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं.७ का अध्यक्ष कपिल आचार्य लगायतले सम्मान समेत गरेका छन् ।

चतरा धामबाट पदयात्रा सुरु गरी सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाकाल भगवतीको पहिलो दर्शन गरेको थियो । त्यसपछि कोसी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन, मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिएको थियो ।

त्रिवेणी धाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना हुँदै कार्की छाप-भेडेटार हुँदै पदयात्रा धरानको शिवजट्टाधाम-वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर, तरहरा- इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर, रामधुनीधाम, रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा गरेको थियो ।

त्यसपछि आज सोमवार बिहान वराहक्षेत्रको सिकारीथान हुँदै सिमरवन, शुक्रवार हुँदै चक्रघट्टीको शिवालय मन्दिर आइपुगेको हो । आज सोमवार चक्रघट्टीमा बसेर भोली मङ्गलवार बिहान देविघाट हुँदै जब्दि, रेल्वे लाइन हुँदै चतरा पुग्ने छ । बुधवार वराहक्षेत्र वराहक्षेत्र मन्दिर पुगेर पद यात्रा समापन हुने जगद्गुरु बालसन्त मोहनशरणले जानकारी दिए ।

उक्त पदयात्रा गत वर्षदेखि नेपाल राष्ट्रका प्रथम जगतगुरु बालसन्त मोहन सरणको सत् सङ्कल्पबाट सुरु भएको थियो । बृहत्तर वराहक्षेत्र भित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको मठ मन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार, उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए ।