इटहरी : इटहरी उपमहानगरपालिका १७ को पकली माध्यमिक विद्यालयका अध्यक्ष विनोद कुमार झालाई दुई लाख घुस मागेको आरोपमा वडा शिक्षा समितिले कारबाही गरेको विषय बाहिरिएको छ । गत असोज १८ गते वडा शिक्षा समितिको निर्देशन नमानेको र आर्थिक अपचलनमा संलग्न भएको आरोपमा झा कारबाहीमा परेका हुन् ।
झाको शैक्षिक योग्यतामा प्रश्न उठेपछि इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको छ । गत असोज १३ गते शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख द्रोणप्रसाद दाहालले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाएको भन्दै पत्राचार गरे । सोही पत्रमा वडा नम्बर १७ का वडाध्यक्षलाई आवश्यक निर्देशन वा समन्वय गर्न उल्लेख गरिएको छ ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ६ को नियम २९ अनुसार उच्च माध्यमिक तहको व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि सोही तहको अध्ययन भएको हुनुपर्छ । अन्य सदस्यहरू सोही योग्यता नभएको अवस्थामा मात्र तल्लो तहको अध्ययन भए पनि मान्य हुने उल्लेख छ । तर अन्य सदस्यहरूको योग्यता हुँदाहुँदै पनि झा अध्यक्ष बनेका हुन् ।
उपमहानगरपालिकाको पत्र अनुसार वडाध्यक्ष प्रभातकुमार आचार्यको अध्यक्षतामा असोज १४ गते वडा शिक्षा समितिको बैठक बसी शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माग भयो । शिक्षा शाखा र वडा समितिको निर्देशनलाई झाले अटेर गरिदिए । पुनः १८ गते वडा शिक्षा समितिले उनलाई कारबाही गर्यो । निर्देशन नमानेको र आर्थिक अपचलनमा संलग्न भएको आरोपमा उनलाई असोज १८ गतेदेखि कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइयो ।
स्थानीय सरकारले दिएको निर्देशन र पत्रलाई उनले अटेर गरिरहेका छन् । कारबाहीमा परेका झाले बैठक बसेर अध्यक्ष कायमै रहेको दाबी गर्न प्रयास गरिरहेका छन् । त्यसमा प्रयोग भएका छन् शिक्षक अभिभावक सङ्घको अध्यक्ष अविनाश चौधरी । चौधरीले विभिन्न निर्णय गर्नुपर्ने भन्दै बैठक बसाउन दबाब दिइरहेका छन् । घुस मागेको आरोप लागेका झाको हकमा उपमहानगरपालिकाले भने ठोस निर्णय लिन सकेको छैन ।
अर्कातिर झाको बचाउमा विद्यालय व्यवस्थापन समिति महासङ्घ लागेको छ । शैक्षिक योग्यताको प्रश्न उठेपछि महासङ्घले भर्त्सना गरेको छ । केन्द्रीय सचिव काशीनाथ दङ्गालले नै झालाई प्रमाणपत्र नबुझाउन उकासेको विश्वस्त श्रोतले जानकारी दिएको छ । जनता माविका अध्यक्ष समेत रहेका दङ्गाललाई घुस मागेको अडियो पनि धेरै अगाडी पुगेको तर उनले बेवास्ता गरे । त्यसबिचमा जनता मावि र पकली माविका अध्यक्ष बिच शिक्षक र प्रधानाध्यापक हेरफेरको योजना बन्यो तर कार्यान्वयन भएन ।
महासङ्घ इटहरीका अध्यक्ष रुद्र बहादुर बस्नेतले गत असोज १९ गते विद्यालयका अध्यक्ष झालाई कारबाही नगर्न विज्ञप्ति जारी गरे । वडा शिक्षा समितिले कारबाही गरेको विषयमा उनले महासङ्घ मूकदर्शक नबस्ने र कठोर निर्णय लिन बाध्य हुने चेतावनी दिएका छन् ।
दङ्गालले भने स्थानीय सरकारले सम्बन्धित अध्यक्ष सँग स्वयम् प्रमाणपत्र माग्नुपर्ने बताए । अध्यक्ष मातहत रहेको प्रअ मार्फत भन्दा पनि सिधै अध्यक्षसँग पालिकाले डकुमेन्ट माग्नुपर्ने उनको भनाइ छ । झाको हकमा अध्यक्षको प्रक्रियामा खोज्नुपर्ने डकुमेन्ट कार्यकाल सकिन लाग्दा मागिएकोमा उनले संशय व्यक्त गरे ।