धरान : चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधाको अभाव मुख्य समस्या भएको बताइएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आज शुक्रवार मकाउनका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठको स्वागत कार्यक्रम बिच भएको छलफलमा उक्त निष्कर्ष निकालिएको हो ।मकाउमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पछिल्लो पटक सन् २०१७ मा पाटा ट्राभल मार्ट आयोजना गरिएको थियो । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम सँगको सहकार्यमा द भेनिसियन मकाउ रिर्ससोर्ट होटेलमा ४० औँ ‘नेपाल पेभिलियन’मा सहभागिता जनाएपछि अन्य प्रयास भएको छैन ।
गत : फागुनमा पर्यटन प्रवर्द्धन तोकिएपछि पहिलो पटक मकाउ पुगेका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक नेपाल भित्राउन सिधा उडान नहुनु मुख्य समस्या भएको बताए । मकाउ पुग्न हङकङ वा गोञ्जाउ ट्रान्जिट भएर दुई ठाउँबाट भिसा लिनु पर्ने भएकोले समस्या भएको हो ।
नेपालबाट मकाउ करिब ४ घण्टाको उडानबाट पुग्न सकिछ । मकाउ सरकारसँग प्रस्ताव गरिएमा हवाई सुविधा प्राप्त हुनसक्ने बताउँदै श्रेष्ठले यसबारे नेपाल सरकारको पर्यटन मन्त्रालयलाई जानकारी दिएको उल्लेख गरे ।
सिधा उडानको हवाई मार्गमा चिनिया आकाश पर्ने भएकोले चीन सरकारले त्यसलाई स्वीकृति दिने नदिने बारेमा केही बताएनन् । क्या सिनो पर्यटनका लागि विश्वमा चर्चित मकाउको स्वायत्ततालाई लिएर पछिल्लो समय चीन–मकाउ बिच तनाव बढेको चर्चा चल्ने गरेको छ ।
मकाउ दक्षिणी चीनको ग्वाङडङ प्रान्तको किनारमा स्थित छ । यसले पश्चिममा चिनिया तट र पूर्वमा हङकङको न्यु ‘टेरिटोरी’को सिमानामा गाँसिएको छ । मकाउको जनसङ्ख्या लगभग ७ लाख छ । मकाउ विश्वको सबैभन्दा जनघनत्वयुक्त क्षेत्रमा पर्दछ ।
मकाउ, मकाउ द्वीप र कोलोन तटस्थ क्षेत्र दुई मुख्य द्वीपमा अवस्थित छ । मकाउ हजारौँ वर्ष अघि स्थानीय आदिवासीहरूले आबाद गरेको ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मकाउ १५५७ मा पोर्चुगिजहरूको उपनिवेश थियो ।
सन् १९९९ मा पोर्चुगलले मकाउलाई चीनको अधिकारमा हस्तान्तरण गरेको हो । त्यस बेला देखी मकाउलाई चीनको विशेष प्रशासनिक क्षेत्र मानिँदै आएको छ ।
अन्तरक्रियामा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, भिमज्वाला राई, मनिता चाम्लिङले मकाउका धनाढ्यलाई नेपालमा लगानीका सम्भावना गर्न सरकार तहबाट पहल गराउन सुझाव दिए । महासङ्घका सभापति जनक ऋषि राई सभापतित्वमा भएको छलफलको सञ्चालन सहसचिव भोला श्रेष्ठले गरेका थिए ।