विराटनगर : नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगीयतामा कोशी प्रदेशबाट सहभागी विराटनगर किङ्स विजेता बनेमा ३० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घोषणा गरेका छन् ।
काठमाण्डौमा हुने प्रतियोगिताको लागि विराटनगर किङ्सको टोलीलाई मङ्गलवार राती बिदाइ गर्दै  मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नगद पुरस्कार दिइने घोषणा गरेका हुन । उनले टोलीलाई जितको शुभकामना दिएका छन् ।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको  छ, क्रिकेटबाट राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन्छ ।’
नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग एनपीएलमा कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए । प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ ।