झापा : झापाको कन्काई ३ टप्पुमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका वडा नं.४ बस्ने ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।
प्रहरीले तदारुकताका साथ खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं.४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका वडा नं.५ मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपन्छी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।