इटहरी : इटहरीस्थित सुष्मा गोदावरी कलेजले पाँचौँ संस्करणको साइन्स ओलम्पियाड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विगत चार वर्षदेखि सुनसरी र मोरङका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुँदै आएको यस प्रतियोगितालाई कलेजले निरन्तरता दिने जनाएको छ ।

मङ्सिर २२ गतेदेखि सुरु हुने यस पाँचौँ साइन्स ओलम्पियाडमा २ सय विद्यालयका करिब ८ सय विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ। समितिका संयोजक श्याम घिमिरेका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै, १० जना विद्यार्थीलाई जनही १ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार पनि दिइनेछ।

विद्यार्थी तथा अभिभावकलाई विज्ञानको महत्त्व, यसको अध्ययनको आवश्यकता र विकास निर्माणमा विज्ञानको भूमिकाबारे जानकारी दिन कलेजले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न प्रयास भइरहेको बताए । गत वर्षको चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० मा तरहरास्थित प्याराडाइज स्कुलका छात्र अनुरोध घिमिरे प्रथम बनेका थिए।

susma 2