धरान : सिरियाको विद्रोही गुटले देशको दोस्रो ठुलो शहर ओलेप्पोका अधिकांश भाग कब्जामा लिएको सिरियन अब्जवेटरी फर ह्युमन राइटस एओएचआरले दाबी गरेको छ ।
बेलायत स्थित एओएचआरले शुक्रवार बेलुका विद्रोहीहरूले शहरको आधा भन्दा धेरै भाग कब्जामा लिएको जनाएको समाचार एजेन्सीहरूले उल्लेख गरेको छ ।
यसअघि बुधवार विद्रोही गुटको हमलामा ८९ जना मारिएका थिए । न्युयोर्क टाइम्सले उक्त हमला सिरियामा ४ वर्ष पछि विद्रोहीहरूले गरेको सबै भन्दा ठुलो आक्रमण भएको उल्लेख गरेको छ । उक्त हमलामा सिरियाई सैनिकको एक सैनिक वेशमा विद्रोहीले कब्जा गरेको थियो ।
सिरियाको विद्रोही गुटले सिरिया सरकारको ४६ सैनिक अड्डा कब्जामा लिएको दाबी समेत गरेको छ । उनीहरूले १० घण्टामा ओलेप्पो शहर कब्जा गरेको एजेन्सीहरूले जनाएको छ । तर सिरिया सरकारबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।
सिरियामा सन् २०११ मा लोकतान्त्रिक पक्षधरहरूको विरोध प्रदर्शनमा सरकारले दमन गरेपछि सुरु भएको गृहयुद्धमा अहिले सम्म ५ लाख बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
सन् २०२० मा तुर्कीको मध्यस्थतामा विद्रोही पक्षसँग सिरियाली सरकारसँग सम्झौता भएको थियो । त्यस पछि विद्रोहका ठुला घटना भएका थिएनन् । सन् २००० मा सिरियाली सत्तामा पुगेका काबिज बशर अल असदले तानाशाही शासन सुरु गरेपछि त्यसको विरुद्ध लोकतन्त्र पक्षधरहरू विद्रोहमा उत्रिएको हो ।
विद्रोही पक्षले फ्रि सिरियन आर्मी नामक विद्रोही समूह बनाएका थिए । सिरियाको गृह युद्धमा अमेरिका, रुस, इरान र साउटी अरबले पनि चासो राख्न थालेपछि द्वन्द्व अरू बढेर गएको हो । यसैको बिचमा आतङ्कवादी सङ्गठन आइएसआईले पनि गृहयुद्धको फायदा लिन प्रवेश गरेको देखिन्छ ।