इटहरी : नियम विपरीत क्षमता भन्दा बढी विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस कारबाहीमा परेका छन् ।
स्कुल बसमा साना साना विद्यार्थीहरूलाई समेत उभ्याएर स्कुल लगेको भन्दै इटहरीमा कारबाही सुरु गरेको हो। बालबालिका विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण सराकारी र निजी स्कुल बसलाई कारबाही गरिएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेल आफै सडक आएर बसहरूमा अनुगमन गरिएको हो । मेयर पौडेलले स्कुल बसहरूको चरम लापरबाही बढेको भन्दै अनुगमनलाई निरन्तरता दिन समेत निर्देशन दिएका छन् ।
पछिल्लो समयमा इटहरी आसपासमा दुर्घटना बढेको भन्दै निरन्तर अनुगमन र पार्किङ व्यवस्थापनको काम भइरहेको छ । ट्राफिक प्रहरीका डिएसपी रामेस्वर त्वाती इलाका प्रहरी इटहरीका डिएसपी लक्ष्मी भण्डारी सहित अनुगमन गर्दा १२ वटा भन्दा बढी स्कुलका बसलाई कारबाही गरिएको छ ।
नियम विपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई समेत विद्यार्थीहरूको सुरक्षामा लापरबाही नगर्न र उनीहरूको सुरक्षामा उच्च सतर्कता अपनाउन सचेत गराइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारीले बताएका छन्।