धरान : सरकारी नम्बर प्लेटको २ वटा गाडीमा प्रहरीले हिजो मङ्गलवार बेलुका ७ बजे धरान-१३ अमरहाटमा ६९० केजी गाँजा पक्राउ गरेको छ ।
अमरहाटमा चेकजाँच गर्दा धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ४६०५ नम्बरको स्कार्पियो गाडी र बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट लगाएको गाडीबाट ६९० किलोग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले चेकजाँच गर्न गाडी रोक्दा चालकले गाडी भगाउन खोजेपछि इन्सास राइफलबाट ४ राउण्ड फायर गर्नुपरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
उनले भने ‘एक राउण्ड गोली एउटा गाडीको पछाडिको सिसाको माथिल्लो भागमा लागेको छ ।’
उक्त घट्नाको जानकारी दिन आज बिहान इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा डिएसपी प्रकाश जवेगुले इलाका प्रहरी कार्यालय धरानको टोलीले दुवै गाडीलाई नियन्त्रणमा लिएको बताए ।
गाँजा सहित प्रहरीले चालक ३६ वर्षका श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । चेकजाँच गर्दा गाडीमा कालो रङ्गको प्लाष्टिक भित्र प्याक गरी राखेको ११ बोरा गाँजा फेला परेको हो ।
डिएसपी जवेगुले गाडीहरूको नम्बर प्लेट न्यायिक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बर प्लेटसँग मिलेको बताए । उनले भने ‘नम्बर प्लेट मात्र मिलेको छ, थप अनुसन्धान पछि सार्वजनिक गर्नेछौँ ।’