धरान : कोशी राजमार्गको सेउती खोला पुलदेखि पानीपीया खण्ड निर्माण कार्य सम्पन्न भईनसक्दै भत्कन थाल्नुको मुख्य कारण मापदण्ड अनुसार निर्माण कार्य नभएको प्राविधिज्ञहरुले बताएका छन् । सडक डिभिजनले त्रुटि सच्याउने प्रतिबद्धता जनाए पनि जनप्रतिनिधिहरूले त्यस अघि सडक निर्माणको गुणस्तर ल्याब परीक्षण गर्न माग गरेका छन् ।
निर्माणाधीन सडकको काम प्रायः पुरा भएको दायाँ भाग २ महिना अघि खुला गरिएको थियो । खुला गरिएको २ महिना नबित्दै सडक भत्कन थालेपछि सरोकारवाला यातायात व्यवसायी, सर्वसाधारणले सडक विभागप्रति प्रश्न उठाएका छन् ।
जन गुनासोको सुनवाइ गर्न कोशी प्रदेश सभा सदस्यद्वय विजयकुमार राई, रमेशकुमार बस्नेत यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित प्रविधिज्ञहरुको टोलीले बुधवार स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा प्राविधिज्ञहरुले राजमार्गको सडक खण्ड मापदण्ड अनुसार निर्माण नभएको बताएका हुन । टोलीमा सहभागी इन्जिनियर डी क्षेत्रीले कोशी राजमार्ग सडकको मोटाई १०० एमएम हो अहिले बिछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइ समेत कम भएको बताए ।
उनले भने ‘हाल रहेको ६ं० एमएम (डिभिएम) मै सडकको पिच भत्किनु गम्भीर त्रुटिको कारण हो ।’ अब डिभिएममा थप ४० एमएमको पिच थपिने भए पनि डिभिएममै पिच भत्किएपछि अस्फाल्ट पिचमै पनि समस्या आउने छ ।
सेउती-पानीपिया सडक खण्डको बिच सडक ११ ठाउँमा भत्किएको छ । इन्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटिहरू धेरै भएका छन् । उनले भने ‘धेरै ठाउँमा सेग्रिगेशन सडकको प्याचिङ खाल्डो भएको छ ।’
विटुविन अलकत्रा र डस्ट ढुङ्गाको धुलो कम हुनु वा तापक्रम नमिलाइएकोले यस्तो हुनुको मुख्य कारण भएको उनले बताए । सडकको उक्किएको पिच उडेको मसिनो टुक्राको अवस्था सच्याउन अब खाल्टा भएको भागलाई कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नु पर्ने उनको भनाई छ ।
इन्जिनियर क्षेत्रीले अबौँको आयोजना सडक विभागका भरमा मात्र गुणस्तरीय बन्न नसक्ने बताए । उनले भने ‘आयोजनालाई अनुगमन गर्न कन्सल्टेन्ट नियुक्त नगरिएकोले लापरबाही भएको हो ।’
सेउती-तरहरा खण्ड भदौ देखी निर्माण सुरु भएको हो । सेउती-तरहरा खण्डको दायाँ सडक २ महिना अघि सवारीका लागि खोलिएको हो ।
सांसद विजयकुमार राईका अनुसार सडक निर्माणको ठेकेदार प्यासिफिक हिमदुङ्गा जेबी, काठमाण्डौं हो । पानीपीया-सेउती पुल खण्डको काम भने मल्ल कन्स्ट्रक्शनले गरिरहेको छ । राईसँग मल्ल कन्स्ट्रकशनका प्रमुख प्रेम मल्लले पिच गरे लगतै हेभी सवारीहरू छाडिदिएकाले पिच भत्किएको दाबी गरे ।
मल्लले प्राविधिक रूपमा बलियो हुने गरी सुधार गरिने प्रतिबद्धता भने जनाएका छन् । मुख्य ठेकेदार कम्पनीका प्रोप्राइटर ठाकुरप्रसाद कँडेलले भने फोन सम्पर्कमा नआएको सांसद राईको भनाई छ ।
सांसद रमेश बस्नेतले आफूले साइड इन्जिनियर अर्जुन साहसँग कुरा गर्दा जनताको गुनासो सुनाउँदा फेरी गुनासो नआउने गरी सडक सुधार गरी निर्माण गरिदिने बचन दिएको उल्लेख गरे ।
मजदुर नेता भीम ज्वालाका अनुसार सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन इन्जिनियर राजेन्द्र साहले प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन् । उनले मानवीय त्रुटि भएकोले सच्याउने वचन पनि दिए । पानी परेको समयमा चिसो अस्फाल्ट पिच बिछ्याइएकाले यस्तो भएको उनको भनाई छ ।
सडक अनुगमन गरेका टोलीमा सहभागी सदस्यहरूले सम्बन्धित पक्षले सुधारको आश्वासन दिए पनि प्राविधिक रूपमा सडकको गुणस्तर यकिन नगरी सुधारको काम गर्नु पर्ने माग गरेका छन् । अनुगमन टोलीले ‘सडकको कोर कटिङ गरेर ल्याब परीक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नु पर्ने माग गरेको’ बताइएको छ ।
अनुगमन टोलीमा नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेल, धरान-१८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रवीण, एमाले जिल्ला सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ सहभागी थिए ।