धरान : विद्रोही समूहका लडाकुहरू राजधानी दमास्कस प्रवेश गरेपछि सिरियाका राष्ट्रपति बशर अल-असदले आइतबार दमास्कस छोडेका छन् ।समाचार एजेन्सी रोइटर्सले वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति अल-असदले राजधानी छोडेको पुष्टि गरेको छ । उनी कहाँ गए यकिन भएको छैन ।
सिरियाली मानावाधिकारवादी संस्था अब्जर्भेटरी फर ह्युमन राइटले दमिश्क हवाई अड्डाबाट एक निजी विमान उडेको र त्यसमा राष्ट्रपति अल-असद हुनसक्ने जनाएको छ । सिरियाली विद्रोही समूहले देशका मुख्य सहर हमा, लगायत अधिकांश भाग र तेस्रो ठुलो सहर होम्स कब्जामा लिइसकेको बताइएको छ ।
विद्रोही समूहले लडाकुहरू राजधानी दमिश्क प्रवेश गरिसकेको कुरा उनीहरूको अधिकारीका टेलिग्राम च्यानलमा सन्देश दिएको बेला राष्ट्रपति अल-असदले राजधानी छोडेका हुन ।
दमास्कसमा विद्युत् सप्तलाई बन्द भएको छ । गोलाबारीको भीषण आवाजहरू आइरहेका छन् । सीएनएनले सङ्घर्ष चलिरहेको उल्लेख गर्दै मानिसहरू घरबाट बाहिर ननिस्किई रहेको उल्लेख गरेको छ ।
यसअघि गत साता सिरियाको विद्रोही समूहले देशको दोस्रो ठुलो सहर ओलेप्पो कब्जामा लिएको सिरियन अब्जवेटरी फर ह्युमन राइटस एओएचआरले जनाएको थियो ।
त्यसै बिच बेलायत स्थित एओएचआरले विद्रोहीहरूले सहरको आधा भन्दा धेरै भाग कब्जामा लिएको जनाएको समाचार एजेन्सीहरूले उल्लेख गरेका थिए ।
सिरियामा सन् २०११ मा लोकतान्त्रिक पक्षधरहरूको विरोध प्रदर्शनमा सरकारले दमन गरेपछि सुरु भएको गृहयुद्धमा अहिले सम्म ५ लाख बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
सन् २०२० मा तुर्कीको मध्यस्थतामा विद्रोही पक्षसँग सिरियाली सरकारसँग सम्झौता भएको थियो । त्यस पछि विद्रोहका ठुला घटना भएका थिएनन् । सन् २००० मा सिरियाली सत्तामा पुगेका काबिज बशर अल असदले तानाशाही शासन सुरु गरेपछि त्यसको विरुद्ध लोकतन्त्र पक्षधरहरू विद्रोहमा उत्रिएको हो ।विद्रोही पक्षले फ्रि सिरियन आर्मी नामक विद्रोही समूह बनाएका थिए । सिरियाको गृह युद्धमा अमेरिका, रुस, इरान र साउटी अरबले पनि चासो राख्न थालेपछि द्वन्द्व अरू बढेर गएको हो । यसैको बिचमा आतङ्कवादी सङ्गठन आइएसआईले पनि गृहयुद्धको फायदा लिन प्रवेश गरेको देखिन्छ ।