धरान : महिला हिंसाका घटनाहरू न्यायको पहुँचदेखि टाढा रहेकाले नेपाली समाजमा लैङ्गिक हिंसा न्यूनीकरण हुन नसकेको धरानमा आयोजित एक अन्तरक्रियामा सहभागीहरूले बताएका छन् ।

उनीहरूले लैङ्गिक हिंसा प्रभावित महिलाको न्यायमा पहुँच नभएकोले न्यायमा पहुँच बढाउनुपर्नेमा जेड दिएका छन् । कांग्रेस निकट नेपाल महिला सङ्घद्वारा आयोजित सोमवार आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा महिला अगुवाहरूले उक्त धारणा प्रकट गरेका हुन ।

प्रमुख अतिथि कांग्रेस पूर्व केन्द्रीय सदस्य मिना सुब्बाले नेपालको संविधानमा महिला हकको छुट्टै व्यवस्था भए पनि महिला हिंसामा कमी आउन नसकेको बताइन् । नेपालको संविधान, २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।

कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्य मान्यता खारेज हुनुपर्ने तथा सामाजिक रूपान्तरणका लागि सामुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने बताए ।

सङ्घकी क्षेत्रीय सभापति नेत्रकुमारी राईले लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताका लागि अभियानलाई सार्थक बनाउन महिला सङ्घले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताइन् ।

महिला सङ्घ धरान नगर समिति द्वारा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा अन्तरकृयाको आयोजना गरेको हो ।

कांग्रेस नगर सभापति श्याम पोखरेल, महिला अधिकारकर्मी मिना पुलामी, जिल्ला सदस्यद्धय इन्दिरा पलिखे र अनुपमा सुनुवार, सन्ध्या श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ लगायतले महिला हिंसाको बारेमा आआफ्ना विचार राखेका थिए ।

सङ्घकी प्रदेश १ क सभापति निर्मला नेपालले सञ्चालन गरेको अन्तरक्रियामा ललिता अधिकारी, जिल्ला सदस्य सरिता सुब्बा, क्षेत्रीय सदस्यद्धय कमला श्रेष्ठ र कमला रुचाल, प्रदेशसभा १ क कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सङ्घकी नगर सभापति सुशिला श्रेष्ठ लगायत उपस्थित थिए ।