धरान : नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करणको मैदानमा उत्रने टिम प्रशिक्षक, मार्की खेलाडीको घोषणा भएको छ । खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको हो । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएको छ । बुटवलको हिमालयन रेइडर्सले सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार समेत दुई जना प्रशिक्षक राखेको छ ।
१९ औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्य पदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने भएकी छन् । उनी संभवत पुरुष टिमकी पहिलो नेपाली महिला प्रशिक्षक बन्ने छिन् । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्व खेलाडी हुन ।
प्रशिक्षकपछि मार्की खेलाडी घोषणामा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमाण्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन ।
प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो । ड्राफ्टमा ९२ जना नेपाली र २५ विदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए । विदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र केन्याका थिए ।
प्रशिक्षकहरूले आ-आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।
कार्यक्रमका प्रमुख अथितिका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठुलो योगदान भइरहेको बताए । एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने उनले विश्वास विश्वास व्यक्त गरे ।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले मधेशमा निक्कै लोकप्रिय खेलको रूपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिनको लागि एनकेएल ल्याएको बताए । कबड्डीलाई एनकेएलमार्फ व्यावसायिक खेलको रूपमा स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
नेपाल कबड्डी लिगमा सहभागी टिम-प्रशिक्षक र मार्कीको सूचि :
विराटनगर ब्यान्डिट्स, लोकबहादुर विष्ट, कल्याण भुजेल । जनकपुर नाइट्स, पार्वती राई, रामु टमाटा, काठमान्डु माभरिक्स, सरोजकुमार सिंह, घनश्याम रोका मगर, पोखरा लेकर्स, विष्णुदत्त भट्ट, प्रदीप मिजार, हिमालयन रेइडर्स, सन्दीप पन्त÷पोथुगान्ती सतिशकुमार गणेश पार्की, धनगढी वाइल्डक्याट्स, महेश बोहोरा, पदमबहादुर विष्ट ।