धरान : संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डा अङ्गीकृत गरेको दिनको सम्झनामा धरानमा सोमबार राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
कोशी प्रदेश सभाका पूर्व सभामुख प्रदीप भण्डारीले भानुचौकमा झण्डोत्तलन गर्दै पुस १ गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाइने गरेको बताए ।
उनले नेपालको झण्डा राष्ट्रको प्रतीक भएको उल्लेख गर्दै कलात्मकताका कारण नेपाली झन्डा नेपाली संस्कार संस्कृतिको प्रतीक पनि रहेको बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले झण्डाले राष्ट्रिय एकतालाई भावनात्मक रूपमा बलियो बनाउने बताए ।
यसअघि उपमहानगरपालिका गेट अगाडीबाट निस्किएको र्याली बजार परिक्रम गर्दै भानुचोक पुगेर झण्डोत्तलन गरिएको थियो । र्यालीमा कोशी वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल लगायत राजनीतिक दलका नेताहरू सहभागी थिए ।
कार्यक्रम शाक्य मुनी युवा समूह र नेवार एकता समाजले संयोजन गरेको हो ।