धरान : प्रहरीले शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर पछिल्लो समय इन्टरनेटको प्रयोगबाट बढेको अपराधलाई नियन्त्रण गर्न तदारुकता अपनाउनु पर्नेमा गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

भैरहवामा मङ्गलवार आयोजित लुम्बिनी प्रदेश सुरक्षा गोष्ठी उद्घाटनमा उनले भने ‘पछिल्लो समय साइवर अपराध र वित्तीय अपराध बढेकोमा नागरिकहरू चिन्तित बनेका छन्, उनीहरूलाई सुरक्षित छु भन्ने अनुभूति गराउने कार्य सुरक्षा निकायबाट हुनुपर्छ ।’

उनले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताए । शान्ति सुरक्षा दिन सक्यौँ भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्न पाउँने गृहमन्त्रीले बताए ।

संविधानलाई असफल हुन दिने छुट कसैलाई नभएको बताउँदै उनले संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन सरकारको जिम्मेवारी भएको उनले स्पष्ट गरे । संविधानमा नागरिकका ३२ वटा मौलिक हक भएको गृहमन्त्रीले उल्लेख  गरे ।

सीमा क्षेत्रमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको उल्लेख गर्दै उनले सिमानामा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिए । उनले भने ‘सिमानामा हुने आर्थिक लगायतका अपराधको नियन्त्रण हुनुपर्‍यो ।’

लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्यूनीकरण गर्न उनले निर्देशन दिए ।