धरान : धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको आज बुधवार भएको क्वाटर फाइनल खेलबाट आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाई ४९–४३, सियोन स्कुलले विजयपुर स्कुललाई ५१–१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१–३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाई ९६–२७ फराकिलो अङ्कले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले प्रत्येक क्वाटरमा १८–९, ६–७, ९–१७ र १६–१० अङ्क जोडेको थियो ।
दोस्रो खेलमा सियोन र विजयपुर स्कुलले १९–१५, ७–०, १३–८, र १२–७ अङ्क जोडेको थियो । तेस्रो खेलमा होलिल्याण्ड र डिपो स्कुल ए टिमले प्रत्येक क्वाटरमा १२–२, १८–१०, ११–८ र १२–६ अङ्क जोडेको थियो ।
अन्तिम क्वाटरफाइनल खेलमा टावर टेम्पल झापाले कार्मेल स्कुलले प्रत्येक क्वाटरमा २७–६, १९–५, २२–१२ र २८–४ अङ्क जोडेको थियो ।
बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा धरान मेघा ए टिम र सियोन स्कुल र दोस्रो सेमिफाइनल खेल टावर टेम्पल स्कुल झापा र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
धरान मेघा कलेजद्वारा आयोजित प्रतियोगिता धरान बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको सहयोगमा सञ्चालन भएको हो ।
कक्षा १२ सम्मका विद्यार्थीहरूले मात्र सहभागी हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागी छन् । विजेता टिमले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।