धरान : पहिचानवादी पार्टीहरूको ४ राजनीतिक सङ्गठनहरूले धरानमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी संयुक्त पहिचानवादी मोर्चा गठन गरेको घोषणा गरेका छन् ।
यसलाई आगामी २०८४ को संसदीय निर्वाचनमा पहिचानवादीहरूको संयुक्त मोर्चा बनाएर अघि बढ्ने मिशनको रूपमा हेरिएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक प्राडा.महेन्द्र लावतीले भने ‘चाडै पहिचानवादी शक्तिहरू एकीकृत गरी दल निर्माण गरिने छ ।’ उनका अनुसार नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यका साथ ४ पहिचानवादी सङ्गठन मिलेर संयुक्त मोर्चा गठन भएको हो ।
मोर्चामा नेपाल राष्ट्रिय जनमुक्ति पार्टी, पहिचानवादी मोर्चा, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं १ समिति, प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति छन् ।
नयाँ मोर्चा गठनको अन्तिम टुङ्गो पुस ११ गते धरानमा बसेको ४ सङ्गठनको एकीकृत शक्ति निर्माण समितिको सहजीकरणमा बैठकले गरेको बताइएको छ ।
बैठकले नयाँ दल निर्माण सम्मको लागि चक्रीय प्रणालीको आधारमा डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोही बैठकले नयाँ दलको विचारधारा, कार्यदिशा, साङ्गठनिक संरचना लगायतबारे छलफल गर्दै टुङ्गो लगाउन कार्यदल पनि निर्माण गरेको छ ।
कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको पनि प्रतिनिधित्व रहनेसाथै देशैभरि टोल तहसम्म एक संयोजक, सहसंयोजकहरु, एक सदस्य सचिव र विभिन्न विभागहरूसहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले मोर्चाले मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ, सहसंयोजकहरु सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपी पालुङ्वा, सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा, धनबहादुर पन्धाक चयन गरेको जानकारी दिइएको छ ।