धरान : कविशिरोमणि लेखनाथ पौडेलको १४१औँ जन्म जयन्तीको अवसरमा आज सोमवार बिहान धरान-१६ लेखनाथ चोक स्थित उनको शालिकमा माल्यार्पण गरिएको छ ।
कवि शिरोमणि साहित्य साधना समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्याहाङले कवि शिरोमणि लेखनाथ पौडेल हुकुमी शासनका बेला सामाजिक, राजनीतिक परिवर्तनको सन्देश दिने कवि भएको बताए ।
प्राडा. गोपालप्रसाद भण्डारीले लेखनाथका कविताहरू कालजयी भएको बताउँदै सामाजिक, नैतिक मूल्यको सन्दर्भमा उनका कविता अहिले पनि सान्दर्भिक रहेको बताए ।
प्राडा.रमेश घिमिरेले साहित्य अक्षरको खेती भएको र त्यसले सभ्यता, संस्कृतिको उन्नयन गर्ने बताउँदै भने "लेखनाथ पौड्याल हामीलाई त्यो बाटो देखाउने महान् कवि भएकाले शिरोमणि मानिएको हो ।"
समाजका अध्यक्ष सिध्दिकर्ण शर्माको सभापतित्वमा भएको कार्यक्रममा भरतमणि शर्माले स्वागत भाषण, विजय घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।


































































