धरान : इटहरी उपमहानगरपालिका कार्यालय अगाडी बम फेलाको समाचार सँगै धरानको भोटेपुल नजिकै त्यस्तै बस्तु फेला परेको सञ्चार माध्यमलाई आफूले नभनेको कुरा सुनसरी जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाले बताएका छन् ।
फोन सम्पर्कमा एसपी सुमन तिम्सिनाले भने ‘धरानमा शङ्कास्पद बस्तु भेटिएको भनेको छैन, सञ्चार मध्यमले गलत सूचना प्रवाह गरे, मैले भनेकै छैन ।’
इटहरीमा भेटिएको विस्फोटक बारे एक अपरिचित नम्बरबाट बमको जानकारी आएको प्रहरीले जानकारी दिएको छ । एसपी सुमन तिम्सिनाका अनुसार धरान, इटहरी र बुढी खोलाको पुलमा बम राखेको जानकारी भए बमोजिम खोजतलास गरिएको हो ।
कसले र कुन नियतमा बम राख्यो भन्ने अनुसन्धान भइरहेको बताउँदै उनले भने ‘इटहरी बाहेक अन्यत्र जोखिम छैन ।’ इटहरीमा रहेको बम डिस्पोज भइसकेको हुँदा निर्धक्क हुन उनले आग्रह गरेका छन् ।
इलाका प्रहरी धरानका डिएसपी प्रकाश जबेगुले धरानमा शङ्कास्पद वस्तु भेटिएको कुरा हल्ला मात्र भएको बताए । उनले फोनमा भने ‘धरानमा शङ्कास्पद वस्तु भेटिएको छैन, हल्लाको पछि नलागौँ हामी स्थलगत अनुगमनमा छौँ ।’