धरान : डिपो कप फुटबलको १९औँ उपाधिका लागि फाइनल खेल आयोजक डिपो रेड र पुलिस स्कुल बिच हुने भएको छ । डिपो स्कुलको खेल मैदानमा बुधवार भएको सेमिफाइनलमा डिपो स्कुल इमानुयल स्कुललाई ५–१ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । यसैगरी पुलिस स्कुल दिल्ली पब्लिक स्कुललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विकले एक्लै ३ गोल गर्दै ह्याट्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमानुयलका सौगात श्रेष्ठले १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले २ र युगल विकले १ गोल गरे । दिल्ली पब्लिकका रोहन लिम्बूले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका रेवन राई घोषित भए ।
उनीहरूलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि र प्रमाणपत्र प्रदान गरे । डिपो र पुलिस स्कुलले उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्लेट च्याम्पियनमा डिपो पहेँलो र जलसाय स्कुल फाइनलमा
यसैगरी डिपो कपको पहिलो चरणमा पराजितहरूको प्लेट च्याम्पियनमा आयोजक डिपो स्कुल पहेँलो र जलसाय स्कुल फाइनल पुगेको छ ।
बुधवार भएको सेमिफाइनल खेलमा डिपो पहेँलोले आइडल स्कुललाई टाइव्रेकरमा ३–१ गोल गर्दै फाइनल पुगेको हो ।
निर्धारित समयमा डिपो पहेँलोका सेसेहाङ राई र आइडियलका रिकेश खत्रीले १–१ गोल गरी खेल बराबरमा टुङ्गिएपछि टाइव्रेकर भएको थियो ।
टाइव्रेकरमा डिपोका साइमन पाख्रिन, निकेश विक र नवदिप राईले गरे । आयडलका सन्जिव वास्तोलाले मात्र गोल गरे ।
दोस्रो सेमिफाइनल खेलमा जलसाय स्कुलले नोवेल एकेडेमीलाई २–१ गोलले पराजित गर्दै फाइनमा प्रवेश गरेको छ । खेलमा जलसायका तर्फ बाट दुवै गोल प्रनिश राईले गरे । नोवेल एकेडेमीका साहिल राईले १ गोल फर्काएका थिए ।