इटहरी : नेकपा एमालेबाट निष्कासित भएपछि निक्कै आक्रामक बन्दै गएका भीम बहादुर रावललाई कोशी प्रदेशमा राजावादीले साथ दिएका छन् । उग्र राष्ट्रवादी र सरकार विरोधी नारा लगाउँदै आएका रावललाई राजावादी अभियन्ताले समर्थन गरेका हुन् । 

गृहमन्त्री भइसकेका रावल एमालेका पूर्व उपाध्यक्ष समेत हुन् । २०७२ को नाकाबन्दीमा एमाले अध्यक्ष केपी शर्मा ओली उग्र राष्ट्रवादी भएका थिए । त्यस बेला ओलीलाई खुलेरै प्रशंसा गर्ने मध्ये एक हुन् रावल । 

एमालेको १० औँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि किनारा लाग्दै गएका थिए । पछिल्लो समय ओलीको आलोचक बन्दै आएका रावलले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट टिकट समेत पाएनन् । ओलीसँग अध्यक्षमा पराजित भएपछि पार्टी नेतृत्वको आलोचनामा उत्रिए ।

प्रतिनिधिसभामा टिकट नपाएपछि बिच्किएका रावललाई सम्झाउन २०८० साउनमा ओलीले भेट गरेका थिए । भेटपछि झनै बढेको तिक्तताले रावललाई पार्टी निष्कासनको अवस्थामा पुर्‍याएको हो । 

पार्टीबाट निष्कासित भएपछि कोशी प्रदेश आएका उनलाई राजावादीले नाराबाजी सहित स्वागत गरे । दुर्गा प्रसाईँका समर्थकहरू ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का प्रतिनिधिले खाँदा माला लगाइदिए । ‘मातृभूमि जागरण अभियान’का लागि विराटनगर उत्रिएका रावलको लागि राजावादीहरूले ‘जय देश जय नरेश’ को नारा लगाए । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलम समेत रावललाई समर्थन गर्न पुगेका थिए । 

रावल सुनसरीको भरौलमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि आएका हुन् । भेट्रान क्लबले आयोजना गर्ने उद्घाटन कार्यक्रम स्थगित भएपछि उनी मोरङ र सुनसरीका राजावादीहरू सँग संवादमा जुटेका छन् । एमाले नेताहरूको दबाबको कारण फुटबल प्रतियोगिताको उद्घाटन स्थगित भएको जनाइएको छ ।

Wasim-alam