धरान : धरान-१५ सदन रोडमा एक युवकलाई खुकुरी प्रहार गर्ने ४ युवक र १ युवती पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानले हिरासतमा राखेको छ ।
उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिने म्याद थप गरी हिरासतमा राखिएको डिएसपी प्रकाश जवेगुले बताए ।
उनीहरूलाई ३ दिन अघि गत शनिवार बिहान धरान-१५ सदन रोडमा २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीया विश्रान्ति मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, धरान-५ का २१ वर्षीय सुदीप तामाङ छन् ।
खुकुरी प्रहारबाट बाटोमा लडिरहेको अवस्थामा घाइते राईलाई भेटिएको थियो । राईको टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिनामा काटिएको छ । तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईलाई धारिलो हतियार प्रहार गरी उनीहरू भागेका थिए । इलाका प्रहरी कार्यालय धरान तथा अन्य कार्यालयका समेत प्रहरी परिचालन गरी खोज तलास गर्दा प्र-१-०२-०५२ प ८९८५ नम्बरको स्कुटर सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर दिवस कुँवरले भने ‘घटना रहस्यमय र फिल्मी शैलीमा भएको पाइयो ।’ घटनाको विवरण पुरा प्राप्त नभएकाले थप अनुसन्धान भइरहेको छ । थप विवरण आएपछि पुन घटना विवरण दिने उनले बताए ।