धरान : अनुमति नलिई ९ र १० कक्षा सञ्चालन गरी विद्यार्थीलाई प्राइभेट एसइई परीक्षा दिलाउने गरेका डिपी विलिर्भस बोर्डिङ स्कुल धरान-५ लाई धरान उपमहानगरपालिकाले कक्षा बन्द गर्न चेतावनी दिएको छ ।
शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले भने ‘शिक्षा नियमावली अनुसार स्कुललाई कक्षा बन्द गर्न आदेशसँगै जरिवाना, स्तर वृद्धि रोक्का गर्न सक्ने चेतावनी दिइएको छ ।’ एक पटक चेतावनी दिए पनि कक्षा सञ्चालन गरेको पाइएकाले स्कुललाई कुन प्रकारको कारबाही गर्ने भन्ने छलफल भइरहेको उनले बताए ।
स्कुलले शिक्षा महाशाखाको अनुमति नलिई कक्षा ९ र १० कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई एसइई परीक्षा भने प्राइभेटबाट दिलाउँदै आएको पाइएपछि उपमहानगरपालिकाले शिक्षा ऐन, २०७५, शिक्षा नियमावली अनुसार कारबाही गर्ने भएको छ । महाशाखाले भौतिक संरचना तयार भएपछि मात्र स्तरवृद्धिको अनुमति दिने गरेको छ ।
वार्षिक क्यालेण्डर अनुसार शैक्षिक सत्र सुरु हुनु भन्दा २ महिना अगाडी मात्र अनुमति प्रकृया अघि बढ्छ । अनुमति माग्दैमा भौतिक संरचना पुरा नभएकोले अनुमति पाउँदैन । महाशाखा प्रमुख खतिवडाका अनुसार स्तरवृद्धिको अनुमति शिक्षा शाखाले टिप्पणी उठाएर कार्यपालिका बैठकले पास गरेपछि मात्र पाउने नियम छ ।
शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली अनुसार स्कुललाई अनुमति नलिई सञ्चालन गरिएको कक्षालाई तुरुन्त बन्द गर्न निर्देशन दिने व्यवस्था छ । ऐन अनुसार तोकिएको रकम जरिवाना पनि हुनसक्छ । अनुमति बिना सञ्चालन गरिएको संस्थाले यसअघि कुनै प्रकारको अस्थायी मान्यता पाएको छ भने त्यसलाई रद्द गर्न सक्छ ।
अदालतमा मुद्दा चलाउन पनि सकिन्छ । स्कुलका प्रिन्सीपल सञ्जीव राईका अनुसार उपमहानगरपालिकाले स्कुलले अनुगमन गरेपछि गरेको पत्राचारमा स्कुलले भौतिक संरचना पूर्ण गरेको र पटक पटक अनुमतिका लागि प्रयास गरेको स्पष्टीकरण दिएको बताए ।
उनले भने ‘स्कुलले पटक पटक अनुमति मागेको छ भौतिक संरचना पुरा गरी शिक्षा ऐन अनुसार कार्य गर्दै आएको छ ।’ तर कक्षा अनुमति नलिई ९ र १० सञ्चालन गरी विद्यार्थीहरूलाई प्राईभेट एसइई परीक्षामा सहभागी गराउँदै आएको हो ।
प्रिन्सीपल राईले विद्यार्थी र अभिभावकहरू सबै मन्जुरी लिई प्राइभेट परीक्षा दिने गरी कक्षा सञ्चालन भएको दाबी गरेका छन् । शिक्षा महाशाखा अनुसार स्कुलले कक्षा ८ सम्मको मात्र अनुमति लिएको छ ।