धरान : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धरानको समस्या खानेपानी हो भने स्थानीय सरकार धरान उपमहानगरपालिकाले कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।
धरान एक्स्पो २०८१ को समापन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले २०७९ पछि बनेको स्थानीय सरकार धरान उपमहानगरपालिकाले प्रदेश सरकारसँग सहकार्य र समन्वय नगरेको र हाल सम्म पनि सहकार्य गर्न तयार नभएको बताए ।
उनले भने ‘स्थानीय सरकारले आफ्नो ठाउँको स्पष्ट नीति के हो छुट्याएर अगाडी बढ्नु पर्छ, हचुवाको तालमा हिँड्नु हुँदैन ।’ मन्त्री भण्डारीले धरानको मुख्य एजेण्डा खानेपानीको प्रस्ताव प्रदेश र सङ्घीय सरकारलाई पेस गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले भने ‘प्रदेश सरकारले धरानलाई महत्त्व दिएर खानेपानीको समस्या समाधान गर्न उच्च प्राथमिकताका साथ अघि बढेको छ तर धरानको स्थानीय सरकार प्रस्ताव गर्न र समन्वय गर्न तयार भएको देखिएन ।’
कोशी प्रदेश सरकारले देशकै लागि महत्त्वपूर्ण काम लगानी सम्मेलन गर्ने तयारी गरेको उनले बताए । लगानी सम्मेलन मार्फत देश विदेशबाट अरबौँ लगानी भित्रिए प्रदेशका सबै गाउँपालिका, नगर र उपमहानगरपालिकाले निजी क्षेत्रसँग मिलेर प्रोजेक्ट सञ्चालन गर्न सक्ने उनको भनाई थियो ।
मन्त्री भण्डारीले धरान उपमहानगरपालिकाले प्रदेश सरकारसँग ‘सोकोश’ गर्न पत्राचार गरेतापनि कार्यनीति सहितको नीति विश्लेषण गरेर प्रस्ताव पेस नगरेको स्पष्ट गर्दै भने ‘बरु सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीले कार्यनीति पेस गरेको छ, सोकोश गरेको प्रस्ताव कार्यान्वयन गर्ने छौँ ।’
समारोहमा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले धरानको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले कार्यान्वयन गरेको ३ वटा डिपबोरिङ योजनाले धरानको खानेपानी समस्या समाधान गर्न सहयोग गरेको बताए । उनले भने ‘सङ्कट टार्न अझ थप खानेपानी योजनाका लागि बजेट प्रस्ताव भएको छ ।’
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले आर्थिक गतिविधि बढाउन धरान एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै भने ‘आर्थिक गतिविधि बढाउने मेला प्रदर्शनीलाई स्थानीय सरकारहरूले सधैँ साथ दिनेछ ।’
सङ्घको आयोजनामा पुस २५ देखि एक्सपो सञ्चालन भएको थियो । एक्स्पो ले धरानको आर्थिक गतिविधि बढाउन १३ दिन सम्ममा १० करोडको व्यापार भएको मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले बताए ।
उनले एक्स्पो ३ लाख दर्शकले अवलोकन गरेका बताउँदै भने ‘एक्स्पो धरान क्षेत्रको व्यापारिक इतिहास पहिचान बनाउन सफल भएको छ ।’
सङ्घका अध्यक्ष विजय श्रेष्ठले रैथाने उत्पादनको प्रवर्द्धनमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने ‘धरानको खस्कँदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको छ ।’