धरान : धरान ब्याडमिन्टन क्लबले गत असोज १७ देखी १९ गते सम्म भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।
क्लबले बुधवार पत्रकार महासङ्घको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिता धरान-१३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा भएको थियो ।
सङ्घकी कोषाध्यक्ष कविता राईले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिताबाट क्लबलाई १ लाख ७६ हजार २ सय ७८ रुपैयाँ बचत भएको जानकारी दिइन् ।
सार्वजनिक गरिएको आयव्ययमा विभिन्न शीर्षकबाट २२ लाख ९५ हजार ७ सय ८२ रुपैयाँमा आम्दानी भएको उल्लेख छ। प्रतियोगिता सञ्चालनमा कुल २१ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको उल्लेख छ ।
क्लबका उपाध्यक्ष तेज मेन्याङ्वोले आउँदो वर्ष पनि प्रतियोगिता निरन्तरता दिइने बताए । अध्यक्ष टङ्क लिम्बूले धरान खेलकुदको सहर उपनामले चिनिने गरेकोले पनि बर्षेपिच्छे प्रतियोगिता आयोजना गर्ने बताए । सहसचिव अर्जुन मेन्याङ्वोले कार्यक्रम सञ्चालन गरेका थिए ।